नागरिकलाई आफ्नै देशमा प्रतिबन्ध गर्न नहुने भन्दै एनआरएनए पुग्यो मन्त्रालय

डिसी नेपाल
७ चैत २०७६ १८:४५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकलाई आफ्नै देशमा प्रतिबन्ध गर्न नहुने भन्दै परराष्ट्र तथा गृह मन्त्रालयमा पुगेर आपत्ति जनाएको छ ।

शुक्रबार संघका बरिष्ठ उपाध्यक्ष बद्री केसीसहितको एक टोलीले परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली तथा गृहमन्त्री राम बहादुर थापा (बादल) लाई भेटेर विदेशमा रहेका नेपालीलाई आफ्नै मुलुकमा रोक लगाउनु व्यवहारिक नभएको भन्दै यो निणर्यमा तुरुन्त पुनर्विचार गर्न माग गरेको हो ।

उपाध्यक्ष केसीले डिसी नेपालसँग भने, ‘ आज हामीले परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली तथा गृहमन्त्री राम बहादुर थापा (बादल) सँग भेट गरेको थियौँ । सरकारले गैरआवासीय नेपालीलाई नेपाल प्रवेशमा लगाएको प्रतिबन्ध र यसले गैरआवासीय नेपालीलाई पर्ने असरका बारेमा लिखित आवेदन पेश गरेका छौँ । ’

केसीले सरकारको यो निणर्यले विदेशमा रहेका विद्यार्थी तथा वैदेशिक रोजगारमा रहेका नेपाली समुदायलाई चरम कठिनाइ हुने बताए । संकटको घडिमा आफ्नै मुलुकमा आउन बन्देज गर्नु नागरिकको नैसर्गिक अधिकार हनन भएको उनको भनाइ छ । ‘अहिले कोरोनाले विश्वव्यापी महामारी सिर्जना गरेको छ । यो अवस्थामा विदेशमा रहेका आफ्ना नागरिकहरूलाई कुनै पनि अप्ठेरो नहोस् भन्ने सवालमा सरकार संवेदनशील हुनुपर्ने हो,’ केसी भन्छन् ‘ तर, यहि जटिल परिस्थितिमा सरकारले तिमीहरू आउन पाउँदैनौ भन्नु जायज होइन । अहिले विदेशमा भएका नेपालीले आफ्नो नैसर्गिक अधिकार खोसिएको महशुस गरेका छन् ।’

प्रतिबन्धले वैदेशिक रोजगारमा गइ करार अवधि पुरा गरेर स्वदेश फर्कन लागेका श्रमिक, भ्रमणमा तथा आफन्त भेट्न विदेश गएर भिसा सकिएका नेपालीलाई ठूलो असर परेको उनले बताए । त्यस्तै सबै भन्दा मार नेपाली विद्यार्थीलाई परेको उनको भनाइ छ । जसले दिनभर काम गरेर बेलुकाको लागि जोहो गर्थे।

भेटमा संघले तत्कालै सबैको लागि नभएतापनि भिसा तथा श्रम स्वीकृतिको म्याद सकिएर वा अन्य कारणले अप्ठेरोमा परेर स्वदेश नफर्की नहुने आपतकालीन अवस्थामा रहेकाहरूलाई आउन पाउने व्यवस्था मिलाउन माग गरेको केसीले जानकारी दिए।

छलफलपछि मन्त्रीद्वय ज्ञवाली र थापा संघको मागप्रति सकारात्मक रहेको केसीले बताए । त्यस्तै आपतकालीन अवस्था भएकालाई सहयोग पु¥याउन सरकार र संघबीच समन्वय गर्ने समझदारी बनेको पनि उनले जानकारी दिए ।

संसारभर आतंक मच्चाइरहेको कोरोनाको संक्रमण फैलन सक्ने सम्भावित जोखिमलाई रोक्न भन्दै नेपाल सरकारले कोरोना प्रभावित सबै देशहरुबाट नेपाल आउने नेपालीसहित सबै यात्रुहरुलाई शुक्रबारदेखि पूर्णरुपमा प्रतिबन्ध लगाएको छ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले आगामी अप्रिल १५ तारिखसम्मका लागि प्रतिबन्ध लगाउने निणर्य गरेको हो । युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाउने भएको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *