कोरोना विरुद्ध कर्णाली सरकार : १० दिन भित्र भारतमा रहेका कर्णाली बासीलाई घर फर्कन आग्रह

डिसी नेपाल
७ चैत २०७६ २२:४५

सुर्खेत । कर्णाली प्रदेश सरकारले एक हप्ताभित्र प्रदेश राजधानी वीरेन्द्रनगरमा १ हजार बेडको क्यारेन्टाइन निर्माण गर्ने भएको छ ।

सरकारले निर्माण गर्न लागेको क्वारेन्टाइन निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको छ । सेनाले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ६ सय बेड र रेडियो नेपाल क्षेत्रीय प्रसारणको खाली जग्गामा ४ सय बेडको क्वारेन्टाइन ७ दिनभित्र निर्माण गर्ने छ ।

शुक्रबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् र विपद् व्यवस्थापन कार्यकारी समितिको संयुक्त बैठकले ठुलो संख्यामा कर्णालीबासी रोजगारीका लागि भारतमा रहेको र भारतमा कोरोनाको संक्रमण देखिएको ले कर्णालीमा पनि कोरोनाको उच्च जोखिम रहेको निष्कर्ष निकाल्दै क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो ।

कोरोना तीव्र रुपमा फैलिन थालेको भारतमा उनीहरु आउने जाने गरिरहेकोले पनि जोखिम मानिएको हो ।

कर्णाली सरकारले भारतमा रहेका कर्णालीवासीलाई १० दिनभित्र घर फर्किन आग्रह गरेको छ । उनीहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य जाँचपछि मात्रै घर जान दिइने निर्णय भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए ।

कर्णाली प्रवेश गर्ने हवाई तथा स्थल मार्गका नाकाहरु नेपालीहरुलाई प्रवेश गर्न दिने गरी बन्द गर्ने निर्णयसमेत भएको छ । कर्णाली जाने विदेशी नागरिकहरुले जुन जिल्लामा जाने हो सोही जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनुमतिमा मात्रै प्रवेश पाउने छन् र उनीहरुलाई क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छ ।

राति १० बजेदेखि विहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी बन्द गर्ने, अत्यावश्यक काम बाहेक मनत्रालय र कार्यालयहरुमा हुने भेटघाट र आवतजावतलाई रोक लगाउने र ५० करोडको कोष खडा गर्ने निर्णयसमेत बैठकले गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *