‘भर्चुअल जेल’ बनेको कतारको सबैभन्दा ठूलो क्याम्पमा थुनिएका नेपाली के भन्छन् ?

डिसी नेपाल
८ चैत २०७६ १२:०३

काठमाडौं। आप्रवासी कामदारको लागि बनाइएको कतारको सबैभन्दा ठूलो क्याम्प ‘भर्चुअल जेल’मा परिणत भएको छ । सयौं कामदार कोरोनाभाइरबाट संक्रमित भएपछि यो क्याम्प पूरै लकडाउन गरिएको छ । औद्योगिक क्षेत्रको ठूलो क्षेत्रफलमा रहेको यो क्याम्पको परिधिमा पुलिसले सुरक्षा दिइरहेको छ र यहाँभित्र अत्याधिक भीडभाडको स्थितिमा हजारौं कामदारहरु थुनिएका छन् । यस्तो स्थितिमा यहाँ भाइरस अत्यन्तै तीव्र गतिमा फैलिन सक्ने देखिएको छ ।

द गार्डियनको रिपोर्ट अनुसार यो क्पाम्पमा कोही छिर्न र निस्कन पाउँदैन । यहाँ थुनिएकामध्ये धेरैजसो फिफा विश्वकप २०२२ का लागि बन्दै गरेका संरचना निर्माणमा खटिएका मजदूर हुन् । यी क्वारेन्टाइन गरिएका क्याम्पभित्र थुनिएका कामदारले डर र अनिश्चितताको वातावरण रहेको बताएका छन् । द गार्डियनले स्रोतको हवाला दिँदै यहाँ राखिएका केही कामदारलाई अर्को सूचना नभएसम्मका लागि बेतलबी विदामा राखिएको दावी गरेको छ । उनीहरुको खाने र बस्ने खर्च मात्र कम्पनीले व्यहोरिरहेको छ ।

लकडाउनमा राखिएको क्षेत्रमा बस्ने एक नेपाली कामदारले आफूहरुलाई यो क्याम्प छाड्न प्रतिबन्ध लगाइएको बताए । ‘हामी समूहमा हिँड्न र चिया पसलमा बसेर खान पाउँदैनौं । यद्यपि खाना किनेर लिएर बस्ने ठाउँमा जान भने पाइन्छ । मलाई घरमा भएका परिवारको पीर परिरहेको छ । यदि मलाई केही भइहाल्यो भने उनीहरुको हेरविचार गर्ने कोही हुने छैन’ उनले भने । ‘यहाँको अवस्था निकै तनावपूर्ण छ’ अर्का नेपाली कामदारले थपे ।

कतार सरकारले ११ मार्चमा प्रवासी कामदारहरुमा कोरोना संक्रमणका २३८ केस देखिएको घोषणा गरेपछि यो क्याम्प लकडाउन भएको हो । संक्रमितहरुमध्ये नेपाली पनि हुन सक्छन् तर कति नेपाली संक्रमित भए भन्ने कुनै जानकारी आएको छैन । कतारका अधिकांश सार्वजनिक क्षेत्र बन्द भएका छन् तर केही कामदार, जो संक्रमित पाइएका छैनन्, उनीहरुलाई अझै काम सुरु गर्नुअघि पनि सामान्य तापक्रम जाँचेर काम गराइएको उनीहरुले बताएका छन् । खाडी क्षेत्रमा संक्रमणको दर लगातार बढिरहेको छ ।

केही कामदारले कतार सरकारले हाले लिएको नीतिको प्रशंशा गरेका छन् । एक नेपाली कामदारका अनुसार उनलाई फ्लुजस्तो लक्षण देखिएपछि तत्कालै अस्पताल लगिएको थियो । कोरोनाभाइरसको संक्रमण नेगेटिभ देखिएपछि मात्र उनलाई क्याम्पमा ल्याइयो । ‘कतारले आफ्नो शक्तिले भ्याएसम्म भाइरस फैलिन नदिने प्रयासहरु गरिरहेको छ । कामदारहरुले पनि सरकारलाई सघाउने सक्दो गरिरहेका छन्’ उनले भने । अन्य कामदारहरुले भने द गार्डियनसँग कुरा गर्न मानेनन् । मिडियासँग कुरा गरेमा आफूलाई डिपोर्ट गरिने डर उनीहरुमा थियो ।

बुधबार नेपाल सरकारले गरेको खाडी र अन्य भाइरस प्रभावित देशबाट आफ्ना नागरिकलाई नेपाल फर्किन नदिने अभूतपूर्व निर्णयले दशौं लाख नेपाली विदेशमै फसेका छन् । आप्रवासी विज्ञ गणेश गुरुङले भने सरकारको यो निर्णयको आलोचना गरेका छन् । उनले यो निर्णयबाट आफू आश्चर्यचकित भएको बताएका छन् । उनले यसलाई आप्रवासी नेपालीको मानव अधिकारको हनन भएको टिप्पणी गरे । कतार रकारले कोरोनाभाइरस संक्रमितमध्ये धेरैजसो औद्योगिक क्षेत्रकै भएको पुष्टि गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *