लण्डनमा कोरोनाबाट नेपालीको मृत्यु भएको आशंका, परिवारलाई क्वारेन्टाइनमा बस्न आग्रह

डिसी नेपाल
९ चैत २०७६ ६:२१

लण्डन । बेलायतको लण्डनमा केही दिनअघि निधन भएका एक भूतपूर्व गोर्खालाई कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ।

लण्डनको साउथह्यारो बस्दैआएका करिब ६५ वर्षका पूर्व गोर्खा लिलाबहादुर राईको गत मंगलबार नर्थविकपार्क अस्पतालमा निधन भएको थियो।

मृत्युको कारणबारे अस्पतालको आधिकारिक रिपोर्ट आइनसकेको तर डाक्टरहरुले पनि कोरोना संक्रमणको आशंका गरेको मृतकको परिवारले अन्नपूर्ण पोस्टलाई जानकारी दियो।

परिवारका अनुसार मृतक पछिल्लो एक महिनादेखि नमोनियाबाट थलिएका थिए। झण्डै २ दशक पहिले दुवै मृगौला प्रत्यारोपण गराएका उनी कोलेस्ट्रोल, घुंडा सुन्निने लगायत स्वास्थ्य समस्याबाट पनि पीडित थिए। पछिल्लो समय उनलाई रुघाखोकी पनि लागेको थियो।

निमोनियाको उपचारका लागि करिब तीन साता अस्पताल बसेका उनलाई कोरोनाको महामारी बढ्दै जाँदा अस्पतालले घर पठाइदिएको थियो। अस्पतालबाट घर फर्किएको तीन/चार दिनमा फेरि सिकिस्त भएपछि अस्पताल पुर्याएको केहिबेरमै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

राईको मृत्युपछि अस्पतालले उनको परिवारलाई सेल्फ क्वारेन्टाइनमा बस्न सल्लाह दिएको थियो। यसअघि राई अस्पतालबाट फर्किएर बीचमा केही दिन घरमा बसेका कारण पनि परिवारका सदस्यलाई सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको राई परिवार निकट स्थानीय व्यवसायी गंगाबहादुर रानाले बताए।

तर अस्पतालले मृतकलाई कोरोना संक्रमण भएको पुष्टि भने गरिसकेको छैन । संखुवासभा स्थायी घर भएका पूर्व गोर्खा राई लण्डनमा श्रीमती र छोरा–बुहारीका साथ बस्दै आएका थिए । उनी सेवा निवृत्त भएपछि सेक्युरिटीमा काम गर्दै आएका थिए।
अन्नपूर्ण पोस्ट दैनिक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *