कोरोनाभाइरसका कारण नेपालीको मृत्यु, नेपालीले ज्यान गुमाएको पहिलो आधिकारिक घटना

डिसी नेपाल
९ चैत २०७६ १३:४९

काठमाडौं। कोरोनाभाइरसका कारण एक नेपालीले ज्यान गुमाएका छन् । संखुवासभाका ६६ वर्षका लीलाबहादुर राईको गत मंगलबार बेलायतको लण्डनस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको परिवारको हवाला दिँदै बीबीसीले जनाएको छ । राई भूतपूर्व गोर्खा सैनिक हुन् । उनी २००८ देखि बेलायतमा बस्दै आएका थिए ।

बीबीसीका पत्रकार भागिरथ योगीले राईका छोरा विकासको भनाइ उद्धृत गर्दै लेखेअनुसार बाथ रोगबाट पीडित राईलाई झन्डै तीन साता अस्पतालमा राखेपछि गत साता अस्पतालले डिस्चार्ज गरेको थियो । विकासले बीबीसीसँग भने ‘त्यसको ३–४ दिन पछि उहाँको स्वास्थ्य बिग्रियो, सास फेर्न गाह्रो भयो । त्यसपछि हामीले उहाँलाई मंगलवार दिउँसो फेरि अस्पताल पुर्यायौँ, तर त्यहीँ बेलुका उहाँको निधन भयो ।’

उनले अस्पतालले फोन गरेर आफ्ना बुवाको निधन कोरोनाभाइरसको संक्रमणबाट भएको जानकारी दिएको पनि बताए । स्वर्गीय राईको झन्डै २५ वर्ष अघि भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो । सन् २००८ देखि उनी बेलायतमा बसोबास गर्दै आएका थिए । अहिलेसम्म कोरोनाभाइरसको संमणबाट नेपालीले ज्यान गुमाएको औपचारिक जानकारी सार्वजनिक भएको थिएन । यो नै नेपालीले ज्यान गुमाएको पहिलो आधिकारिक घटना मानिएको छ । उनमा कोरोनाभाइरसको संक्रमण कसरी भयो भन्ने आधिकारीक जानकारी दिइएको छैन ।

स्वर्गीय राईको परिवार आफ्नो घरभित्रै अलग्गै (आइसोलेशनमा) बस्दै आएको समाचारमा जनाइएको छ । राईको अन्त्येष्टी बेलायतमै गर्ने योजना रहेको छोरा विकासलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । नेपाली समुदायमा कसैको घरमा परिवारका सदस्यको देहावसान भए घरमै गएर सहानुभूति तथा समवेदना व्यक्त गर्ने प्रचलन भए पनि संखुवासभा समाज यूकेले आफ्ना सदस्यहरूलाई समवेदना व्यक्त गर्न स्वर्गीय राईको घरमा नजान भनेको बताइएको छ । कोरोनाभाइरसको संक्रमणका कारण त्यस्तो सावधानी अपनाउनु परेको समाजले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *