प्रधानमन्त्रीले अत्यावश्यक भेट मात्र गर्ने, दाहाल र देउवा होम क्वारेन्टाइनमा

डिसी नेपाल
१० चैत २०७६ ८:२५

काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) को सन्त्रास विश्वभर फैलिँदै गएपछि नेताहरुले निवास तथा पार्टी कार्यालयमा हुँदै आएका दैनिक भेटघाट तथा कार्यक्रम बन्द गरेका छन् ।

कोरोना संक्रमण विश्वभर फैलँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सबै राजनीतिक दलका शीर्ष नेताले दैनिक भेटघाट र कार्यक्रम बन्द गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यूले अति आवश्यक भेटघाट र जरुरी काम तथा निर्देशनलाई निरन्तरता दिइरहनु भएको छ, दैनिक रूपमा हुने अन्य कार्यक्रममा भने सहभागिता जनाउनुभएको छैन,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राजधानीसँग भने ।

प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए भने मन्त्रिपरिषद्को बैठकमा पनि सहभागी भएका थिए । यसैगरी, नेकपाका अध्यक्ष दाहालले नेता कार्यकर्तासँग हुने गरेका दैनिक भेटघाट तथा कार्यक्रम बन्द गरेका छन् ।

दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले अध्यक्ष दाहालले विगत एक सातादेखि नै नियमित भेटघाट र कार्यक्रममा सहभागिता नजनाएको जानकारी दिए ।
‘आवश्यकता हेरेर मात्र बाहिर निस्कने भन्ने छ, एक सातादेखि नियमित भेटघाट र बाहिरका कार्यक्रम बन्द छन्, उहाँले घरमै अध्ययनमा समय बिताइरहनुभएको छ,’ सापकोटाले भने ।

यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाले समेत निवास तथा पार्टी कार्यालयमा हुँदै आएका नियमित भेटघाट तथा दैनिक कार्यक्रममा सहभागिता जनाउन बन्द गरिसकेका छन् । देउवाले विगत तीन दिनदेखि कसैसँग पनि भेटघाट नगरेको उनको सचिवालयले जनाएको छ ।

‘महत्वपूर्ण भेटघाटबाहेक नियमित भेटघाटसहित कुनै पनि कार्यक्रममा सहभागिता भएको छैन, विगत तीन दिनदेखि भेटघाट पूर्णतः बन्द छ,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस उपसभापति विमलेन्द्र निधिसहितका नेताहरुले निवास तथा पार्टी कार्यालयमा गर्दै आएका नियमित भेटघाट बन्द गरेका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणको खतरा बढेपछि सरकारले सबै नागरिकलाई सचेत रहन र संक्रमणबाट जोगिने हदैसम्मको सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

राजधानी दैनिक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *