विदेशमा नेपाली बेरोजगार हुने स्थिति आए खाने बस्ने व्यवस्था मिलाउन राजदूतहरुलाई निर्देशन

डिसी नेपाल
१२ चैत २०७६ १६:५०

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रममन्त्री रामेश्वर राय यादवले विदेशमा रहेका नेपाली राजदूतलाई कोरोनाभाइरसका कारण सम्बन्धित देशमा रहेका नेपालीहरु बेरोजगार हुने अवस्था आए वा अन्य कुनै समस्या भए खाने बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । दुई मन्त्री र ५ फरक फरक देशका लागि नेपाली राजदूतहरुबीच बुधबार भएको टेलिकन्फ्रेन्समा उनीहरुले यस्तो निर्देशन दिएका हुन् ।

आज दुई मन्त्री र साइप्रसका लागि नेपाली राजदूत डा. अन्जान शाक्य, जापानका लागि कार्यवाहक राजदूत कृष्ण चन्द्र अर्याल, मलेसियाका लागि राजदूत उदयराज पाण्डे, दक्षिण कोरियाका लागि कार्यवाहक राजदूत रामसिंह थापा र दक्षिण अफ्रिकाका लागि कार्यवाहक राजदूत घनश्याम लम्सालबीच टेलिकन्फ्रेन्समा छलफल भएको थियो । यी पाँचवटै मुलुक रोजगारीका लागि नेपाली जाने मुलुकहरु हुन् ।

दुवै मन्त्रीले बैठकमा पाँचै जना राजदूतसँग सम्बनिधत देशमा रहेका नेपालीहरुको अवस्थाबारे रिपोर्टिङ लिएका थिए । राजदूतहरुले सम्बन्धित देशमा आफ्ना नागरिक र नेपाली नागरिकबीचमा कुनै भेदभाव नभएको र त्यहाँ नेपाली सुरक्षित रहेको रिपोर्टिङ गरेका थिए । उनीहरुले नेपालीहरु तत्काल बेरोजगार हुने स्थिति समेत नरहेको बताएका थिए । मन्त्रीहरुले सम्बन्धित देशमा नेपालीहरु बेरोजगार भएमा वा कुनै समस्यामा परेमा नेपालमा लकडाउन भएकोले तत्काल नेपाल ल्याउन नसकिने भएकोले उनीहरुलाई उतै सुरक्षित राख्न राजदूतहरुलाई निर्देशन दिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *