गण्डकी प्रदेशद्वारा १५ करोडको कोष स्थापना

डिसी नेपाल
१२ चैत २०७६ २२:२८

कास्की । गण्डकी प्रदेश सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस(कोभिड–१९) को रोकथाम, नियन्त्रण र व्यवस्थापन लागि रु १५ करोडको कोष स्थापना गरेको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय बाणिज्य बैङ्कमा खाता खोलेर सो कोष स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए ।

सो कोषमा सातै जना मन्त्रिहरुको एक महिनाको तलब जम्मा गर्ने निर्णय भएको र प्रदेशसभा सदस्य, अन्य जनप्रनिनिधि, राष्ट्रसेवक कर्मचारी, नीजि क्षेत्र तथा सङ्घ संस्थालाई समेत कोषमा रकम जम्मा गर्नका लागि अनुरोध गरिएको उनको भनाइ छ । सरकारले आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको संयोजकत्वमा पाँच सदस्सीय कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन समिति समेत गठन गरेको छ । समितिमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधारमन्त्री बस्नेत, सामाजिक विकासमन्त्री नरदेवी पुन र सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल सदस्य रहेका छन् ।

मन्त्रिपरिषद्ले प्रदेशका ११ वटै जिल्ला अस्पताललाई कोरोनाका लागि आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न रु पाँच लाख उपलव्ध गराउने भएको छ । यसअघि सबै जिल्ला अस्पताललाई रु पाँच लाख पठाइएकामा थप रकम निकासा गर्ने निर्णय बैठकले लिएको सरकारले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *