अवस्था बुझ्न राज्यमन्त्री मानन्धर सडकमा

डिसी नेपाल
१४ चैत २०७६ १३:१६

काठमाडाैं। कोरोना भाइरसबाट बच्न जारी गरिएको लकडाउनमा काठमाडौँका सडकको अवस्था बुझ्न शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर स्थलगत अवलोकनमा निस्किएका छन्।

सरकारले उपत्यकाका खाल्डाखुल्डी पुर्ने र कालोपत्र गर्ने कामलाई तीव्रता दिएसँगै पछिल्लो अवस्थाबारे राज्यमन्त्री मानन्धरले पैदलबाट अनुगमन गरेका हुन्। शुक्रबार बिहान राज्यमन्त्री मानन्धरले बालाजु चोकदेखि सोह्रखुट्टेसम्म कालोपत्र गरिएको सडकको अनुगमन गरे।

उनले बालाजु नयाँबजारस्थित विष्णुमती करिडोरको लिङ्क रोडमा गर्न लागिएको कालोपत्रका बारेमा पनि अवलोकन गरे। सडक कालोपत्र र रेखाङ्कनको अवस्थाबारे अनुगमन गर्दै मानन्धरले बालाजु क्षेत्रमा हुने जाम घटाउनका लागि बालाजु पुलको तलबाट अण्डरपास निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए।

उनले काठमाडाैं उपत्यकामा कालोपत्र गरिएका र हुन लागेका सबै स्थानको अवलोकन तथा निरीक्षण गरिने बताउँदै ठेकेदारले गुणस्तर कायम नगरिएको पाइए कारवाही हुने स्पष्ट गरे।

पार्किङको दिगो व्यवस्थापन प्रयास

उनले काठमाडौँको सवारी चापको व्यवस्थापनका लागि उपत्यकाका नदी किनारका करिडोर सडकको खाली स्थान पहिचान गरेर पार्किङ व्यवस्थापन थालिने बताउँदै ट्राफिक प्रहरी महाशाखासँग समन्वय भइरहेको पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *