काेराेना कहर : विदेशबाट आएकाले हेलचेक्र्याँइ गर्दा नुवाकाेटमा त्रास

डिसी नेपाल
१४ चैत २०७६ १३:४६

नुवाकोट। नुवाकोटमा काठमाडौं र बिदेशबाट फर्किएकाले कोरोना संक्रमणलाई हेलचेक्र्याँइ गर्दा स्थानीयमा त्रास उत्पन्न भएको छ।

कोरोनाको त्रासका कारण विदेशबाट फर्किनेलाई कोरोनाको संक्रमणको जोखिम भएपनि क्वारेन्टाइन नबस्ने र बाहिर खुलेआम हिँड्ने र भेटघाट गर्ने जस्ता गतिविधि गर्दा स्थानीयमा थप त्रास बढेको हो।

सरकारले छिमेकी मुलुक भारतको सीमा बन्द गर्नु अघि भारतबाट सयौंको संख्यामा भित्रिएका मानिस गम्भीर नहुँदा समस्या भएको हो।

तारकेश्वर गाउँपालिकामा मात्रै करिब २०० जना भन्दा बाहिरबाट फर्किएका छन्। उनीहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गर्दा अटेर गरेको गाउँपालिका प्रमुख रमेश वस्ती बताउँछन्।

‘गाउपालिका पनि यस बिषयमा गम्भीर छ, पटकपटक आग्रह गरेपनि अटेर गरेपछि स्थानीयमा त्रास बढेको छ तर क्वारेन्टाइन बस्नुपर्छ भनी सल्लाह दिँदा रोग नै लागेर घृणा गरेको जस्तो अनुभूति उहाँहरुले गरिदिनु हुन्छ।’

नुवाकोटको अन्य ठाउँमा पनि यस किसिमको समस्या रहेको र स्थानीयमा चिन्ता थपिएको छ। विदुर नगरपालिका–३ मा पनि केही संख्यामा छिमेकी मुलुक भारतबाट आउने खुलेआम घुमिदिँदा स्थानीयमा थप त्रास बढेको हो। यस विषयमा सम्बन्धित निकायले खासै ध्यान नदिएपनि स्थानीय आफैं सचेत हुन थालेका छन्।

स्थानीय प्रशासनले आग्रह गर्दा अटेर गरेको भन्ने जवाफ दिने गरेको छ। स्थानीय प्रशासनले कडा कदम नचालेको भन्दै स्थानीय झन चिन्तित बनेका छन्।

विदुर नगरपालिका–३का वडाध्यक्ष बद्री रिमालका अनुसार स्थानीयको खबरपछि वडाको पहलमा विदेशबाट आएको नाम र सम्पर्क नम्बर संकलन गरिएको छ।

‘बाहिर मुलुकबाट फर्किएकाहरुसँग नगरपालिका सम्पर्कमा नै छ। अझ स्थानीयले चासो बढाएपछि हामीले उनीहरुलाई भेटेर नाम र फोन नम्बर लिएका छौं,’ वडाध्यक्ष रिमालले डिसी नेपालसँग भने।

स्थानीयले भने उनीहरुको फोन नम्बर मात्र लिएर समस्याको समाधान नहुने भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरुले स्थानीय तहले यस्तो गम्भीर विषयमा चासो नदिएको उनीहरुको गुनासो छ।

अन्य जिल्लामा स्थानीय तहको पहलमा बाहिर बाट आएकालाई क्वारेन्टाइनमा राखेपनि नुवाकोटमा भने स्थानीय तहले लापरवाही गरेको स्थानीयले गुनासो गरेका छन्।

विदुरनगरपालिका–३ का वडाध्यक्ष रिमाल भने स्थानीय तहले क्वारेन्टाइनमा बस्न आग्रह गरेको तर नमानेपछि जबर्जस्ती नगरेको बताउँछन्।

‘आफैं बस्न आउँदैनन् अब जबर्जस्ती ल्याउँदा मानव अधिकार हनन् हुने चिन्ता छ। उहाँहरुको स्वास्थमा पनिसमस्या देखिए छैन,’ उनले भने। तर स्थानीयले भने यो समयमा मानव अधिकार हनन्को विषयलाई लिएर मानव स्वास्थ्यमा खेलवाड गर्न नहुने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *