अब बिना काम घर बाहिर निस्किए सिधै क्वारेन्टाइनमा

डिसी नेपाल
१५ चैत २०७६ ७:०८

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा राख्ने भएको छ ।

प्रहरीले अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर हिँड्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राख्ने नीति लिएको हो । लकडाउनलाई व्यवस्थित गर्न शुक्रबारबाट नै सो नीति सुरु गरिएको प्रहरीले बताएको छ । सरकारले कोरोना संक्रमित फेला परेपछि ११ चैतबाट देशभर लकडाउन गर्ने घोषणा गरेको थियो ।

लकडाउन घोषणापछि पनि सुरुवाती दिनमा प्रहरीले बिनाकाम घरबाहिर निस्कनेलाई सम्झाई बुझाई छाड्दै आएको थियो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सरकारको निर्णयविपरीत बिनाकाम घरबाहिर सडकमा हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्ने जानकारी दिए ।

‘सरकारको निर्णय मान्नु सबै नागरिकको कर्तव्य हो, बिनाकाम लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्छ,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख पोखरेलले राजधानीसँग भने ।

उनका अनुसार यसरी पक्राउ परेकालाई अन्य थुनुवासँग नराखी छुट्टै नै राखिनेछ । ‘लकडाउन उल्लंघनपछि पक्राउ परेकालाई अन्य थुनुवासँग होइन, छुट्टै राख्ने गरी व्यवस्था मिलाइएको छ,’ पाखेरेलले थपे ।

सरकारले अत्यावश्यक सामान ढुवानी गर्ने साधन, एम्बुलेन्स, सुरक्षाकर्मीका सवारी, सञ्चारमाध्यमलगायत अत्यावश्यक सेवाका सवारीलाई मात्र सञ्चालन अनुमति दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीले अनावश्यक रूपमा बाहिर हिँडडुल गर्नेलाई नियन्त्रणमा लिन प्रहरी निरीक्षकको कमान्डमा १५÷१५ जना रहने गरी दुई गाडीसहितको विशेष टोली परिचालन गरिएको जानकारी दिए । उनले सोका लागि परिसरअन्तर्गतका १४ वटै वृत्तलाई निर्देशन दिइएको बताए ।

उनका अनुसार शुक्रबार बिहानबाट साँझसम्म काठमाडौंबाट मात्रै प्रहरीले लकडाउन उल्लंघन गर्ने ४९ जनालाई नियन्त्रणमा लिएको छ । हालसम्म नेपालमा विदेशबाट आएका तीन जना कोरोना संक्रमित बिरामी फेला परेका छन् ।

राजधानी दैनिक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *