माल्टामा नेपालीको भिषा धमाधम रद्द हुँदै, घर न घाटको हुने भइयो भन्दै रुवाबासी

डिसी नेपाल
१५ चैत २०७६ १९:५५

युरोप। पछिल्लो समय नेपालीहरुको रोजगारीको गन्तव्यको रुपमा उदाउदै गरेको देश माल्टा पनि कोरोनाको चपेटामा छ । कोरोनाका कारण माल्टामा कार्यरत करिब तीन हजार पाँच सय नेपालीको भविष्य अन्यौलतातर्फ धकेलिएको छ ।

टापु राष्ट्र माल्टाको मुख्य आयश्रोत भनेको पर्यटन हो । प्राय नेपालीहरु होटल, रेष्टुराँ, लज, बार, सीनेमा हल, क्यासीनो लगायत पर्यटकिय क्षेत्रमा काम गरिरहेका छन् । तर अहिले कोराना भाइरसको कारण माल्टाका यी व्यवसाय अहिले ठप्प छन् । यसरी यि सबै व्यवसाय बन्द हुन थालेपछि रोजगादाता कम्पनीहरुले अब काम दिन नसकिने बताउँदै धमाधम जागिरबाट निकालेर कामदारहरुलाई स्वदेश फर्काउँदैछन् ।

गैह्र आवासीय नेपाली संघ माल्टाका अध्यक्ष राजु अर्याल “बाबु” का अनुसार रोजगादाता कम्पनी एसएसएमले आफ्ना ४० जना कामदारको भिषा रद्दको लागि प्रकृया थालेको र टोटल म्यानेज्मेन्ट कम्पनीले २ सय ३४ जनाको भिषा रद्द गर्न कामदारहरुलाई निवेदन दिइसकेका छन् । यसरी कम्पनीहरुले भटाभट भिषा रद्द गर्ने प्रकृया शुरु गर्न लागेपछि अन्य विभिन्न कम्पनिमा आवद्ध नेपालीहरु समेत ल अब हाम्रो के हुने होला भन्दै त्रसित अवस्थामा छन् ।

नेपालबाट करिब ३ महिना अघि मात्र बैदेशिक रोजगारीका लागि माल्टा आइपुगेकी एपेक्स कम्पनीकी सरीता गुरुगं (नाम परिवर्तन)  रुँदै भन्छिन्, “करिब १२ लाख ऋण गरेर आएको तीन महिना पनि भएको छैन, कम्पनीले भिषा जागिरबाट निकालिदियो, अब नेपाल जाउँ भने पनि कसरी जानु, न फर्कन सकिने अवस्था छ नत नयाँ कम्पनी खोजेर काम गर्ने, त्यत्रो ऋण कसरी तिर्नु । ” कामदार भिषामा आएकाहरु काम र कम्पनीमा आवद्ध नभएपछि सो भिषा अमान्य हुन्छ ।

त्यस्तै अर्की चेली दीपा थापा (नाम परिवर्तन) भन्छिन्, “युरोपमा केहि गरुँला, राम्रो काम गर्दै परिवार बसाउँला भन्ने सोचेर १२ लाख ऋण गरेर आइयो, अहिले कम्पनीले काम नभएको बताउँदै भिषा रद्द हुने बताएपछि घर न घाटको पो भइयो । अहिले यहाँ कोठामै दिन बितिरहेको छ । बाहिर निस्किन पनि पाइँदैन, यो अवस्थामा कसरी अर्को कम्पनी खोज्नु । काम नभए भिषा पनि हँदैन, समस्यामा पो परियो । ”

भिषा रद्द गर्ने कम्पनीहरुको तयारीलाई रोक्नको लागि आफुहरुको तर्फबाट सक्दो पहल जारी रहेको एनआरएनए अध्यक्ष अर्यालको भनाइ छ । त्यस्तै कतिपय कम्पनीहरुलाई त आफूले प्रत्यक्ष रुपमै भेटेरै कम्तिमा २ महिनासम्म भिषा रद्द नगरिदिन आग्रह गरेको उनी बताउँछन् । दुइ महिनासम्ममा त केहि न केहि उपाय निकाल्न सकिने विश्वासका साथ यो आग्रह गरिएको उनको भनाइ छ । कम्पनीहरुले सो आग्रह मान्नेमा आफू विश्वस्त रहेको र कम्पनीहरु पनि सकारात्मक देखिएको अर्यालको दावी छ ।

केहि कम्पनीहरुले भने अहिले आफ्ना कामदारहरुसँग भिषा रद्दको सट्टा केहि शर्तनामा अघि सारेका छन् । कम्तिमा २ देखि ३ महिनासम्म समय दिने, त्यतीबेला सम्म अन्य कम्पनी खोजेर काम गर्न भनेका छन् । तर यो अवधीमा खान र बस्न दिने तर तलब भने नदिने बताएका छन् । तर केहि कम्पनीहरुले भने यो माहामारी केहि समयमा हट्ने विश्वासका साथ कामदारहरुलाई विदा मात्र दिएको छ ।

करिब ५ लाख जनसख्या रहेको टापु राष्ट्र माल्टा दक्षिण इटालीबाट ८० किलोमिटरको जल यात्राको दुरीमा छ । सन् १९८३ मा नेपाल र माल्टाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको हो । माल्टामा नेपाली राजदुताबास तथा नियोग छैन, बेलायतस्थित नेपाली नियोगले माल्टालाई हेर्दै आएको छ । मार्च ७ मा १२ वर्षीया इटालियन बालिकाबाट सुरु भएको कोरोना संक्रमण शनिबार दिउसोसम्म १ सय ५० जनामा पुगेको छ । अहिलेसम्म कोही पनि नेपाली संक्रमित छैनन् ।




प्रतिक्रिया

2 thoughts on “माल्टामा नेपालीको भिषा धमाधम रद्द हुँदै, घर न घाटको हुने भइयो भन्दै रुवाबासी

  1. समाचार मा अलि बढी लेखिएको रहेछ, घर बाट बाहिर निस्कने अवस्था त्यति बन्द नै गरेको त छैन तर अवस्था अब जटिल आउन सक्छ। किनकि अहिले बिश्व भरी अर्थतन्त्र खलबलिएको छ जताततै lockdown छ रोजगार बन्द छ यो सबैलाई सर्ववितितै छ। अर्को कुरा यो नेपाली हरु को भविष्य खास धराप मा पर्नु भनेको यहां भएका एजेन्ट हरुले रोजगारदाता कम्पनीसँग गरेको सम्झ्यौता हो कि। कति पय नेपाली लाई माल्टा सम्म ल्याउने अनि काम को जिम्म हामी लिन्छौं भनेर पनि सम्झौता गरेको र धेरै नेपाली ले कम्पनी मा गएर कुरा गर्दा एजेन्ट हरुलाई नै दोषी ठहर गरेका कुरा सुन्न मा आएको छ। त्यसैले आफ्नै नेपाली दाजु भाइ दिदि बहिनि लाई ल्याएर अलपत्र पार्ने काम जो जसले गरेको छन् उनीहरुले नै यसको जिम्मवारी पुरा गर्नु पर्छ।र रहयो कुरा १२लाख तिरेर आएको धेरै छै र विशेष त समाचार मा नाम परवर्तन दुई दिदि बहिनि हरुले उहाले आफ्नो एजेन्ट लाई पैसा बुझाउँदा जे सम्झौता भएको हो त्यो अनुसार कुरा गर्नुहोस् र विभन्न बहाना मा नेपाली हरु संग लाग्ने लगानी भन्दा बढी रकम लिएर धेरै नेपाली हरुलाई अलपत्र पार्ने जो कोही लाई पनि नछोड्नुहोस् । सम्पूर्ण नेपाली हरु ले एकजुट भयर एकले अर्कोलाई मित्रता कायम गरी अगाडी बढौ र जसरी हुन्छ अहिलेको यो महामारी अवस्थालाई सबैले मिलेर धैर्यता का साथ सामाना गर्न अनुरोध गर्दछु। जय नेपाल
    एक सच्चा नेपाली नागरिक
    हाल माल्टा

  2. हाम्रो नेपाली के चलना छ भने पाइयो भने ठाउँ फुर्ती लगछ भएन भने मुसो जसतो हुन्छ १२ लाख रीना लिएर बिदेस जानु भन्दा ६ लाख रीना खोजेर नेपाल म ६ ६ लाख को पनरशिपा लगनी गरेको भया केही हुन्छ नि सोच बिचार गरेर राम्रो कम गर्नु सोदेश मै अरु को देश को राज गरेको ठाउँ जहाँ पनि उही हो अहीले जौ भनेउ भने मन पर्छ अरु बाटो छैन रता को १२ बजे पनि लेउन सकिछ रता को १२ बजे पनि पठाउन सकिछ तेसैले राम्रो कम अफुनो देश म यि दलाल नेताहरु लाई लता हनेएर एउट राम्रो खुबी देशलाई माया गर्ने नेपाली जनता को लागि कम गर्ने नेता को खोजी गरु सबै नेपाल म नै छ कसैले पनि बहिरा जानु पर्ने अवस्था छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *