२२ दिनमै १ लाख १५ हजार बढी भित्रिएका थिए नेपाल

डिसी नेपाल
१६ चैत २०७६ ७:४१

काठमाडौं । १ मार्च (२८ फागुन) देखि २२ मार्च (९ चैत) सम्मको २२ दिनको अवधिमा १ लाख १५ हजार ५ सय ६६ जना नेपाली तथा विदेशी यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार सो अवधिमा नेपाल भित्रनेमध्ये ८० हजार ५ सय ४३ जना नेपाली र ३५ हजार २३ जना विदेशी नागरिक छन्।

अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले मार्चमा मात्रै नेपाली तथा विदेशी यात्रु गरी १ लाख १५ हजार ५ सय ६६ जना यात्रु अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेको जानकारी दिए ।

‘मार्चमा मात्रै नेपाली तथा विदेशी यात्रु गरी १ लाख १५ हजार ५ सय ६६ जना यात्रु अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका छन्, यस अवधिमा आउने विदेशीको संख्या ३५ हजार २३ छ, अन्य सबै नेपाली छन्,’ अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख आचार्यले राजधानीसँग भने ।

सरकारले अन्तर्राष्ट्रिय उडानमा ९ चैतमा रोक लगाएयता अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कोही पनि नेपाली तथा विदेशी नेपाल आएका छैनन् । कोरोना संक्रमण (कोभिड १९) को सन्त्रास विश्वभर फैलिँदै गएपछि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो ।

नेपालमा हालसम्म पाँच जनामा कोरोना संक्रमण देखिएको छ । यसरी संक्रमण देखिने सबै विदेशबाट आएका नेपाली छन् । सरकारले विदेशबाट आएका नेपालीलाई स्वास्थ्य परीक्षण गराउन र क्वारेन्टाइनमा बस्न आग्रह गर्दै आइरहेको छ ।

पछिल्लो समय शनिबार मात्रै बेल्जियमबाट ४ चैतमा नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । संक्रमण देखिएकी युवती कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।

हालसम्म देखिएका संक्रमितमध्ये एक जना उपचारपछि निको भएर घर फर्किएका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

नेपालमा कोरोनाको पहिलो संक्रमण गत पुसमै देखिएको थियो । पहिलो संक्रमित उपचारपछि घर फर्किसकेका छन् । त्यस्तै, दोस्रो संक्रमित १९ वर्षीया युवती पनि उपचारकै क्रममा छिन् । उनीसमेत ४ चैतमा नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमान हुँदै नेपाल आएकी थिइन् । फ्रान्सबाट आएकी उनमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो ।

यस्तै, तेस्रो संक्रमित व्यक्ति धादिङका हुन् । उनी दुबईबाट नेपाल आएका थिए । चौथो संक्रमित समेत दुबईबाटै आएका थिए । धादिङ घर भएका ३४ वर्षीय उनी ६ चैतमा दुबईबाट इमिरेट्स एयरको विमानमार्फत भारतको राजधानी नयाँदिल्ली आएका थिए ।

उनी ७ चैतमा भारतीय विमान विस्तारा चडेर काठमाडौं उत्रिएका थिए भने ८ चैतमा बुद्ध एयर हुँदै नेपालगन्ज पुगेका थिए । त्यहाँबाट उनी सार्वजनिक बस चढेर धनगढी गएका थिए । सरकारले विदेशबाट आएका विदशीलाई भने धमाधम फिर्ता पठाउँदै छ ।

राजधानी दैनिक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *