काेराेना संक्रमण : चोरबाटो प्रयोग गर्छन् तर जाँच गर्दैनन्

डिसी नेपाल
१६ चैत २०७६ १३:१२

जाजरकाेट। वैदेशिक रोजगारीबाट फर्कनेदेखि अन्य कामले घरबाहिर भएकाहरु धमाधम चोरबाटोबाट फर्कँदा स्वास्थ्य परीक्षण हुनसकेको छैन। गाउँगाउँमा सुरक्षितरूपमा बस्न आग्रह गर्दा पनि कसैले नमानेको स्थानीय सरकारले बताएका छन्।

बाटोमा स्वास्थ्य जाँच भइरहेको ठाउँमा सुरक्षाकर्मीसहितको स्वास्थ्यकर्मी टोली खटिएको भए पनि अर्को बाटो प्रयोग गरेर गाउँमा छिर्नेको सङ्ख्या ठूलो रहेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए। जिल्लाका सबै पालिकामा यही समस्या देखिएको छ।

प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मीहरुले लगातार गाउँगाउँमा माइकिङ गरीरहेको भए पनि कसैले वास्ता नगरेको उनको भनाइ छ। गाउँहरुले स्थानीय सरकारले प्रवाह गरेको सन्देशभन्दा देवी, देवतालाई बलि दिन देवीदेवताका मन्दिर तथा थानमा पुगेको उनको भनाइ छ। नलगाड नगरपालिकाको एैरारीमा तीन वटा बोकाको बलि दिइएको छ।

बारेकोट गाँउपालिका–२ मा देवीदेउता र धामीझाँक्रीमा विश्वास गर्ने ठूलो जमात भएकाले कोरोना महामारी गाउँमा आउन नदिन बलि चढाइएका वडाध्यक्ष द्वारिका बुढाले बताए। अझै आफ्ना जहान केटाकेटी बचाइदिन देउतालाई पछि बलि दिने भन्दै धेरैले भाकल गरेको उनले बताए।

छिमेककी मुलुक भारतमा कोरोना भाइरसको जोखिम बढेपछि मजदुरीका लागि गएकाहरु धमाधम घर फर्किएका छन्। उनीहरु आफुलाई केही नभएको भन्दै निर्वाध घरपरिवार र साथीभाईसँग घुलमिल गरिरहेका छन्। सङ्क्रमण भए पनि तत्काल लक्षण नदेखिँदा जोखिम बढ्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

अहिलेसम्म भारतबाट कति मानिस फर्किए भन्ने कसैले तथ्याङ्क राखेको छैन। ठूलो सङ्ख्यामा भारतबाट मजदुरहरु फर्के पनि केही सीमित सङ्ख्यालाई मात्र क्वारेन्टाइनमा राखिएको छ।

घरको मूलढोका खन्दा कोइला भेटिएको भन्दै तेलमा राखे मात्र कोरोनाबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासका कारण सबैले मूलढोका खन्ने गरेको पाइएको छ।

१०७ जना सेल्फ क्वारेन्टाइनमा

जाजरकोटमा विदेशबाट आएका ५८ सहित नेपाली सेनाका ४९ जवानहरुलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयको सक्रियतामा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

छिमेकी मुलुक भारत तथा मलेशिया, दुबई, कतारलगायतका देशमा वैदेशिक रोजगारीबाट फर्केका ५८ जनालाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको हो ।

जिल्ला प्रवेश गरेलगत्तै उनीहरुलाई आवश्यक परामर्शसहित १४ दिन घरमै क्वारेन्टाइन बस्न लगाइएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।

सेल्फ क्वारेन्टाइनमा बस्ने भेरी नगरपालिकामा २९, शिवालय गाउँपालिकामा १८, छेडागाड नगरपालिकाको वडा नं ३, ६ र १० मा आठ, बारेकोट गाउँपालिका–९ मा तीन जना रहेका छन् ।

यसैबीच नेपाली सेनाको जाजरकोटस्थित ज्वालादल गणमा जिल्ला बाहिरबाट आएका ४९ सैनिकलाई पनि क्वारेन्टाइनमा राखिएकोे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *