लकडाउनकाे मारमा परेका ८३ मजदुर परिवारलाई खाद्य सामग्री वितरण

डिसी नेपाल
१६ चैत २०७६ २०:१८

तनहुँ । कोरोनाभाइरस नियन्त्रणका क्रममा सरकारले आह्वान गरेको लकडाउनका समयमा प्रत्यक्ष असरमा परेका शुक्लागण्डकी नगरपालिका–८ का २५० परिवारमध्ये पहिलो चरणमा ८३ मजदूर परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ । उक्त सामग्रीले कम्तीमा १५ दिन खान पुग्ने वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताउनुभयो ।

रेग्मीले लकडाउनका समयमा वडामा बसोबास गर्दै आएका मजदूर भोको पेट बस्नुपर्ने अवस्था भएकाले खाद्यान्न वितरण गरिएको बताउनुभयो । उहाँले काम गरेर बिहान बेलुकाको छाक टार्दै आएका तर लकडाउनले गर्दा काममा निस्कन नपाएका विपन्न परिवार पहिचान गरी खाद्यान्न वितरण गरिएको जानकारी दिनुभयो ।

प्रत्येक परिवारलाई ३० केजी चामल, दुई केजी दाल, एक लिटर तेल, एक पोका नुन, दुई केजी हरियो तरकारी र आधा केजीको भटमासको तेल लगायत खाद्य सामग्री वितरण गरिएको हो । वडाले उक्त सामग्री वितरणमा सरकारी बजेट खर्च नगरी स्वतःस्फुर्त सहयोग उठाएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

वडा कार्यालयमा ज्याला मजदूरी गरेर दैनिकी गुजारा चलाउने २५० परिवार सूचीकत छन् । वडाध्यक्षका अनुसार लकडाउन अवधिभर सूचीकृत सबै परिवारलाई पुग्ने गरी खाद्यान्न सामग्री वितरण गर्ने लक्ष्य राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *