१५ लाख मानिस बस्ने एसियाकै ठूलो झुपडी बस्तीमा कोरोना पस्यो, ठूलो विनाशको त्रास

डिसी नेपाल
२० चैत २०७६ ८:४८

काठमाडौं। करिब १५ लाखको संख्यामा गरिब, दैनिक ज्यालादारी मजदूरहरुको परिवारले बसोवास गर्ने भारतको मुम्बइस्थित धारावी स्लम (झुपडी बस्ती)मा कोरोनाभाइरसले प्रवेश गरेको पुष्टि भएको छ । गरिबहरुको बाक्लो बस्ती रहेको र मानिसको जनघनत्वका कारण सामाजिक दूरी कायम गर्न समेत अत्यन्तै कठिन मानिएको यो क्षेत्रमा कोरोनाभाइरस प्रवेश गरेसँगै यसले गरिबहरुको ठूलो संख्यामा विनाश गर्न सक्ने त्रास उत्पन्न भएको छ ।

धारावीको यो बस्तीलाई एसियाकै सबैभन्दा ठूलो झुपडी बस्ती मानिन्छ । यहाँ बस्ने कोरोनाभाइरसका एक बिरामीको मृत्यु भएको छ । धारावीलाई मुम्बइको सबैभन्दा बाक्लो र गरिब आवादी भएको क्षेत्र मानिन्छ । यहाँ करिब १५ लाख मानिसहरु बस्छन् । यो स्लममा भेटिएका कोरोनाभाइरसका पहिलो बिरामीको उमेर ५६ वर्ष भएको बताइएको छ । पोजेटिभ पाइएपछि उनलाई उपचारको लागि सायन अस्पतालमा भर्ना गरिएको थियो जहाँ बुधबार अबेर राती उनको मृत्यु भएको इकोनोमिक टाइम्सले जनाएको छ । संक्रमण फैलिने आशंकामा उनको परिवारमा ८ देखि १० जनालाई क्वारेन्टाइनमा राखिएको छ । बिरामी बस्ने घरलाई पनि सील गरिएको छ ।

धारावी स्लम करिब ६१३ हेक्टर क्षेत्रमा फैलिएको छ । यहाँ दैनिक ज्यालादारी मजदूर र सातातिना व्यापारी बस्छन् । यो इलाकामा करिब २२ हजार मानिसहरु कारोबार गर्छन् र केवल यो इलाकाको दैनिक टर्नओभर १० करोडभन्दा बढी छ । यहाँ यही कारण एउटा झुपडीको मूल्य पनि करोडौं पुगेको छ । धारावीलाई मुम्बइको अपराधको केन्द्र पनि मानिन्छ । यहाँको बस्तीमा ‘भाइगिरी’ भरिएको छ । यहाँ १८६२ मा ब्रिटिश शासकहरुले आफ्नो काम गर्ने मजदूरहरुलाई राख्न यहाँ बस्ती बसाएका थिए । त्यतिबेलादेखि नै यो बस्ती मजदूरहरुको बस्तीको रुपमा रहेको छ ।




प्रतिक्रिया

One thought on “१५ लाख मानिस बस्ने एसियाकै ठूलो झुपडी बस्तीमा कोरोना पस्यो, ठूलो विनाशको त्रास

Leave a Reply

Your email address will not be published. Required fields are marked *