सबै किसिमका बिरामीको उपचार गर्न मन्त्री ढकालको निर्देशन

डिसी नेपाल
२१ चैत २०७६ १९:०४

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई शुक्रबार मन्त्रालयमा आमन्त्रण गरी सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन निर्देशन दिएका छन् । मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिने क्रममा अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन न्याम्सका उपकुलपति डा देवनारायण साहलगायतलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिँदै प्रोत्साहन भत्ता र बीमाको व्यवस्था भइसकेको बताए । उनले व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे। मन्त्री ढकाले अहिले नेपालको हकमा समुदायमा फैलावट नभएको स्थितिमा कोरोना भाइरसबाहेकका अन्य रोगका बिरामीले नियमित उपचार पाउन निर्देशन दिए ।

प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देशन पालना गर्ने जानकारी गराउँदै बिरामीलाई कुनै पनि किसिमको असुविधा हुन नदिने जनाएका थिए । वीर अस्पतालका कार्यकारी निर्देशक डा केदारप्रसाद सेञ्चुरीले वीर अस्पतालले गरिरहेको तयारीका बारे जानकारी दिँदै आगामी सोमबारबाट कोरोनाको नमूना परीक्षणसमेत हुने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *