कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु

डिसी नेपाल
२२ चैत २०७६ १२:२५

साेल। कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको शुक्रबार बिहान मृत्यु भएको छ।

दक्षिण कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत उनमा कोरोना संक्रमण भएको पाइएपछि उनी मार्च १९ देखि ख्याङ्बुक नेशनल युनिभर्सिटी अस्पताल थेगुमा उपचाररत थिए।

उनलाई आफ्नो मेडिकल क्लिनिकमा आएका संक्रमितको जाँच गर्ने क्रममा संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ।

कोरियामा कोरानाका कारण शुक्रबारसम्म उनीसँंगै मृत्यु हुने १७४ जना पुगेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ। त्यहाँ हालसम्म संक्रमित १० हजार ६२ छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस नियन्त्रणमा आइरहेको खबर सार्वजनिक भइरहेका बेला चिकित्सकको मृत्युले सिङ्गो चिकित्सा क्षेत्रले शोक मनाइरहेको उनका सहकर्मीले जनाएका छन्।

उनीहरूले भनेका छन्, ’हामी हाम्रो सहकर्मीको उच्च सम्मान गर्दै कोरोनासँग डटेर लड्ने छौँ। कोरोना संक्रमित प्रत्येक बिरामी उपचारपछि सकुशल अस्पतालको ढोकाबाट मुस्कुराउँदै बिदा नभएसम्म हामी निरन्तर खट्ने छौँ।’ कोरियामा कोरोना संक्रमणका कारण चिकित्सकको मृत्यु भएको यो पहिलो घटना हो।

एनआरएनए कोरियाले चार हजार किट्स नेपाल पठाउने

एनआरएनए कोरियाले कोरोना परीक्षण गर्ने दुई हजार किट्समा अरु दुई हजार थपेर चार हजार किट्ससहित अन्य स्वास्थ्य सामग्री पठाउने निर्णय गरेको छ ।

एक हप्ताअघि नै नेपाल पुगिसक्नु पर्ने उक्त किट्स कोरोना भाइरस संक्रमणकै कारण विमान उडान प्रभावित हुँदा पठाउन समस्या भएको हो । यससँगै उक्त किट्स नेपाल कहिले पुग्छ भन्ने अन्योल अझै कायम छ ।

एनआरएनए कोरियाले आज एक जानकारीपत्र जारी गर्दै नेपाल पठाइने भनिएको चार हजार किट्स २४ घण्टाभित्र नै सुरक्षित रुपमा भण्डारण गरिनुपर्ने अनिवार्य बाध्यता र विमान उडान तालिकाको अनिश्चितताका कारण खरीद गरिएको किट्स नेपाल पठाउन नसक्दा सुरक्षित रुपमा उत्पादक कम्पनीमा नै भण्डारण गरिएको जनाएको छ ।

कोरियन एअरको सउल–काठमाडौँ चार्टर्ड उडान तालिकाको निश्चिततासँगै यथासक्दो छिटो नेपाल सरकारसमक्ष सामग्री हस्तान्तरण गरिने जनाइएको छ ।

जानकारीपत्रअनुसार ती किट्सबाहेक अन्य स्वास्थ्य सामग्रीअन्तर्गत दुई हजार थान पिपिई , १० हजार एन ९५ मास्क, २० हजार सर्जिकल मास्क, दुई हजार ग्लास, दुई हजार प्रोटेक्टिङ भाइजर, १० हजार पञ्जा र पाँच सय थर्माेमिटर चाहिँ आजै चीनको ग्वान्जाउस्थित नेपाली महावाणिज्य दूतावासलाई जिम्मा लगाइने भएको छ ।

उक्त स्वास्थ्य सामग्री नेपाल एअरलायन्सको विमान आगामी चार्टर्ड गरिएका बखत नेपाल पु¥याइने छ । दक्षिण कोरिया सरकारले कोरियाबाट निर्यात गर्न बन्द गरेपछि उक्त स्वास्थ्य सामग्री चीनमै खरीद गरिएको हो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *