संकटलाई अवसरमा बदल्दै : किसानको बारीको तरकारी उपभोक्ताको दैलोसम्म

डिसी नेपाल
२२ चैत २०७६ १६:५९

काठमाडौं । किसानको बारीमा तरकारी कुहिने र उपभोक्ताले खान नपाउने स्थिति श्रृजना भएपछि भक्तपुरका युवाहरु उपभोक्ताको घर घरमा तरकारी पुर्‍याउने काममा जुटेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर लकडाउनको घोषणा गरेपछि कृषि उत्पादनले बजार नपाउने तथा उपभोक्ताले खान नपाउने स्थिति श्रृजना भएपछि युवाहरु किसानको बारीबाट सिधै उपभोक्ताको घरमा तरकारी पुर्‍याउने काममा जुटेका हुन् ।

भक्तपुरका अगुवा कृषकहरु यतिबेला किसानको बारीमा गएर तरकारी संकलन गर्ने र उपभोक्ताको घर घरमा पुर्‍याउने काममा व्यस्त बनेका छन् । उनीहरुलाई प्रत्येक दिन बिहान किसानको खेतमा गई तरकारी संकलन गर्ने , संकलित तरकारीलाई प्याकेजिङ गर्ने र उपभोक्ताको घर घरमा पुर्‍याउने काम भ्याईनभ्याई छ ।

आफूहरुले टोल टोल पुगेर विक्रि गर्ने तरकारी बजार मुल्य भन्दा ३० प्रतिशतसम्म सस्तो पर्ने दाबी पनि उनीहरुको छ । तरकारी प्याकेजिङ गर्दै गरेका किसान प्रचण्ड प्रधान कालिमाटीको तरकारी बजारको मुल्यलाई आधार बनाई हरेक दिन कृषकबाट तरकारी किनेर ढुवानी र ज्याला खर्च थप गरि सिधै उपभोक्ताकोमा पुर्‍याउने गरेको बताउँछन् ।

‘भक्तपुरका स्थानीय वासिन्दा तथा कृषकहरुले उत्पादन गरेका तरकारीहरु हामीले संकलन गर्छौ । अनि सय/पचास कति कति हुन्छ । हाम्रो ढुवानी भाडा पनि जोड्छौ ज्याला पनि जोड्छौ । अनि खुद्रा पैसाको जोहो गर्न नपर्ने गरि ठिक्क पचासको /सयको प्याकेट बनाउँछौ,’ उनले भने ।
खेर जाने हरियो तरकारीमा २५ देखि ३० र खेर नजाने आलु प्याज जस्तो तरकारीमा १० देखि १२ प्रतिशत मार्जिन राखेर यी युवाले उपभोक्ताको हातसम्म तरकारी पुर्‍याउने गरेका छन् । अहिले चाँगुनारायण र सूर्य विनायक नगरपालिका तथा वडाका पदाधिकारीसंग समन्वय गरेर तरकारी टोलटोलमा पुर्‍याउने गरिएको पनि बताए ।

लकडाउनको निर्णय संगै किसानको तरकारी बारीमा नै कुहिने, उपभोक्ताले खान नपाउने विषय परिस्थिति उत्पन्न भएपछि किसानको बारीबाट सिधै उपभोक्ता समक्ष पुर्‍यार्‍याउने अवधारणा विकास भएको अर्का अगुवा कृषक कुल बहादुर नेमाफुकीले बताए ।

जिल्ला कृषि सहकारी संघका सदस्य समेत रहेका नेमाफुकीले भने, ‘देशको स्थिति र किसानले भोगेको समस्या सुन्दा, उपभोक्ता र किसानकोबीचमा हामीले पुलको काम गर्नुपर्छ भन्ने सोच्यौ । किसानहरुको बिग्रन लागेको तरकारीलाई चलेको दर/भाउमा किनेर घरबाट निस्कन नपाउने मान्छेहरुलाई, कोरोनाको त्रास भईराखेको अवसथमा उहाँहरुको घर दैलो, चोक चोकमा तरकारी लान हाम्रो भूमिका हुनसक्छ भन्ने हाम्रो ठम्याई भयो ।’

तरकारी बोकेको गाडी स्थानीय पदाधिकारी र स्वयम सेवकहरुसंगको समन्वयमा टोलटोलमा पुग्छ । अनि १ / १ मिटरको दुरीमा रहेका उपभोक्तालाई प्याकेजिङ गरेको तरकारी दिने गरिन्छ । बिहान सांझ उपभोक्ताको घर घरमा पु¥याउने तरकारी वितरणमा पनि यो समुहले थप सर्तकता अपनाएको छ ।

तरकारीमा विषाधी छर्दा लगाउने रेनकोट जस्तो पोशाक, पञ्जा, मास्क लगाएर तरकारी वितरण गर्ने गरिन्छ । गत बर्ष कृषि ज्ञान केन्द्रले विषधी छर्ने बेला लाउने गरि दिएको पोशाक नै किसानसंग मागेर अहिले तरकारी वितरणका बेला लगाउने गरिएको नेमाफुकीले बताए ।

अगुवा कृषक प्रेम नारायण अधिकारीले टोल टोलमा तरकारी पुराउने कामले किसानले पाउने मुल्य र उपभोक्ताले तिर्नुपर्ने मुल्यबीचको अन्तरलाई कम गर्नुको साथै दुवै पक्षलाई फाईदा पुगेको बताए ।

तरकारी टोल टोलमा पुर्‍याउने कामको नेतृत्व गरेको जिल्ला कृषि सहकारी संघका अध्यक्ष शनिस लागेजुले संकटलाई अवसरको रुपमा लिएर काम गर्नुपर्ने निष्कर्षका साथ उपभोक्ताको हातहातमा तरकारी पुर्‍याउने काममा जुटेको बताए । कोरोना भाइरसको संक्रमणको त्रास सर्वत्र भईरहेका बेला अन्य कर्मचारी राख्दा आउन सक्ने समस्या र टिका टिप्पणीका कारण संस्थाका अध्यक्ष देखि पदाधिकारीहरु आफै नै यो काममा खटिएको उनले बताए ।

उनले भने ‘हामीले पहल गर्नुपर्छ । पहल नगरेर हो । यहाँ संभावना छ । हामीले यहाँ समस्यै समस्या मात्रै देखिरहेका छौ । समस्या संगसंगै अवसर पनि छ । किसानले उत्पादन गरेका कुराहरुलाई हामीले बजार खोज्ने हो भने कुनै व्यवसायी वा व्यापारीलाई भन्नुपर्ने अवस्था छैन । यो संकटले हामी नै गर्न सक्छौ भन्ने शिक्षा दिएको छ ।’

आफ्नै टोलटोलमा ताजा तरकारी पाएपछि उपभोक्ता पनि खुसी देखिएका छन् । भक्तपुरका केही स्थानबाट सुरु गरिएको यो सेवालाई सबै तर्फ र सधै पुर्‍याउने व्यवस्था मिलाउन सक्ने हो भने तरकारीमा रहेको बिचौलियाको बिगबिगी सधैका लागि अन्त्य हुनुको साथै किसान र उपभोक्ता दुवै लाभान्वित हुनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *