स्पेनमा कोरोनालाई जितेका अर्घाखाँचीका विष्णु रिजाल नयाँ बिरामीलाई के सुझाव दिन्छन् ?

डिसी नेपाल
२३ चैत २०७६ ८:४२

काठमाडौं। नेपालको अर्घाखाँची स्थायी घर भइ हाल स्पेनमा बस्दै आएका विष्णु रिजालले कोरोनाभाइरसलाई पूर्ण रुपमा जितेका छन् । कोरोनाभाइरसबाट संक्रमित भएपछि २ हप्तासम्म अस्पतालमा बसेर हाल पूर्ण रुपमा संक्रमण मुक्त भइ घर फर्किएको उनले एक फेसबुक पोस्टमार्फत बताएका छन् । उनले हीनताबोधले रोग प्रतिरोधी क्षमता घटाउने भन्दै नयाँ संक्रमितहरुलाई मानसिक रुपमा भाइरसलाई जित्न सक्छु भन्ने मनोबल कायम राख्न सुझाव दिएका छन् । उनले यो भाइरलाई जित्न सावधानी अत्यन्तै महत्वपूर्ण भएको भन्दै सावधानीमा कुनै सम्झौता नगर्न सुझाव दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘म ठीक छु । सबैको कुशलताको कामना गर्दै सबै सजग रहनुहोला हार्दिक अनुरोध छ । जीवनको जन्मपश्चात मृत्यु शाश्वत सत्य हो । तर त्यो सत्यको विरोघमा हामी संघर्षशील रहिरहन्छौ । शायद यही नै जीवनप्रतिको मोह हो । मेरो २ हप्ताको कष्टकर अस्पताल बसाइपछि आज घर फर्कें । शतप्रतिसत ठिक भइ । समस्त स्पेनबासी र युरोपबासी नेपाली जसले मेरो शीघ्र स्वास्थ्यलाभको अनुनय विनय गरिरहनु भयो उहाँहरुप्रति हार्दिक नमन, हार्दिक कृतज्ञता । हजुरहरूकै मायाले मलाई पुनर्जीवन प्राप्त भएको छ मित्रजनजन, शुभचिन्तक सवैलाई नमन । मेरो परिवारलाई हौसला दिनुहुने नेपाली दूतावास, मेरा मित्रजनहरु, अग्रजहरु, सबैमा कृतज्ञता ।

नआत्तिएर मनोबल उच्च राख्नुहोला त्यही मनोबलले तपाईलाई जिताउनेछ । कुनैपनि सावधानीमा सम्झौता नगर्नुहोला । रोग लाग्यो भनेर तुच्छ भावमा नरहनुहोला । यसलाई आकस्मिक सपना सम्झी मानसिक रूपमा आफ्नो विजयपथतिर मुस्किलको सामना गर्न डट्नु होला । किनकि हीनताले रोग प्रतिरोधी क्षमतालाई कमजोर बनाउँछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *