देशमा सवा लाख संक्रमित भइसक्दा एउटा शहरमा शून्य, कसरी जोगियो स्पेनको यो शहर ?

डिसी नेपाल
२३ चैत २०७६ ११:३०

स्पेनमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या करिब १२ हजार पुगेको छ । संक्रमितहरुको संख्या पनि १ लाख २६ हजारभन्दा बढी भइसकेको छ । स्पेन अहिले यो महामारीबाट सबैभन्दा धेरै प्रभावित देशहरुमध्येको एक भएको छ । तर, यही स्पेनमा एउटा शहर यस्तो पनि छ जहाँ अहिलेसम्म एक जना पनि संक्रमित भएका छैनन् ।

जहारा डि ला सिएरा नामको यो शहर पहाडमा अवस्थित छ । देशमा कोरोनाभाइरसको संक्रमण सुरु भएसँगै यो शहरले आफूलाई बाँकी विश्वबाट अलग गरेको थियो । यही कारण स्पेनमा कोरोनाभाइरस संक्रमणको अवस्था भयावह हुँदा पनि यहाँको अवस्था भने सामान्य छ । यो शहर दक्षिणी स्पेनमा अवस्थित छ । सिएनएनको रिपोर्टका अनुसार १४ मार्चमा स्पेनमा कोरोनाभाइरसका विषयमा चेतावनी जारी गरिँदा यो शहरका मेयर सान्टियागो गाल्वनले यो शहर प्रवेश गर्ने ५ मध्ये ४ वटा बाटोहरु बन्द गरिदिएका थिए ।

शहर प्रवेश गर्ने अधिकांश बाटोहरु बन्द भएका कारण पूरै स्पेनमा सवा लाख संक्रमित भइसक्दा यो शहरमा संक्रमण शून्य छ । यो शहरमा करिब १ हजार ४ सय नागरिक बस्छन् । शहरमा जानको लागि केवल एउटा बाटो खुल्ला छ । यो बाटोमा केवल एक जना पुलिसकर्मी तैनाथ गरिएका छन् । यो शहर प्रवेश गर्नको लागि आउने हरेक गाडीलाई सुरक्षात्मक कपडा लगाएका २ व्यक्तिले स्प्रे छर्किन्छन् ताकि संक्रमणको खतरालाई कम गर्न सकियोस् ।

सबै गाडीहरुका टायरलाई पनि संक्रमणमुक्त गरिन्छ । मेयरका अनुसार हरेक सोमबार र बिहीबार बेलुकी साढै ५ बजे १० जना कर्मचारीले पूरै शहर, सडक, प्लाजा र घरका बाहिरी भागलाई संक्रमण मुक्त गर्छन् । ४८ वर्षकी एक महिला अक्जी रेस्कनले भनिन् ‘यहाँ सबै मानिसहरु खुसी छन् किनकि उनीहरुलाई बाहिर जाने आवश्यकता पर्दैन । मानिसहरु आफूलाई सुरक्षित महसुस गर्छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *