साउदी अरबमा कोरोना संक्रमित नेपालीको संख्या ४ पुग्यो

डिसी नेपाल
२३ चैत २०७६ १७:३२

काठमाडौँ । साउदी अरबमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने नेपालीको संख्या ४ पुगेको छ । रियादस्थित नेपाली दूतावासले शनिबार २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको अनौपचारिक जानकारी पाएपछि सम्बन्धित निकायसँग विवरण मागेको थियो ।

आइतबार साउदीको स्वास्थ्य मन्त्रालयबाट ४ जना नेपालीमा कोरोना पुष्टि भएको जानकारी आएको साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले डिसी नेपाललाई बताए । ‘हामीले सम्बन्धित निकायसँग विवरण पठाउन अनुरोध गरेका थियौँ । आइतबार हेल्थ मिनिस्टरीबाट १ लाइनमा लेखेर जानकारी पठाइएको छ,’ राजदूत राजपुतले भने ‘ त्यसमा ४ जना नेपालीमा कोरोनाको संक्रमण भेटिएको भन्ने पुष्टि गरिएको छ । तर, उनीहरु कुन क्षेत्रमा कार्यरत रहेका हुन् भन्ने बारेमा भने केहि खुलाइएको छैन । ’

उनले आफूले संक्रमितमध्ये एक नेपालीको पहिचान समेत पाएको बताए । उनले ती विरामीलाई आफूले सम्पर्क पनि गरिसकेको बताए । ‘मैले अन्य श्रोतबाट एक संक्रमित नेपाली विरामीको पहिचान पाएर उहाँसँग फोन गरेको थिएँ । मैलै फोन गरिसकेपछि उहाँ निकै खुसी हुनु भयो, उनले भने ‘ उहाँको अवस्था सामान्य नै रहेछ । अस्पतालमा उपचार भैरहेको रहेछ । आत्तिनुपर्ने त्यस्तो केही छैन ।’

साउदी अरबमा हालसम्म २ हजार ३ सय ७० जना कोरोना संक्रमित विरामी भेटिएका छन् । तीमध्ये २९ जनाको ज्यान गएको छ । त्यस्तै ४ सय २० जना उपचारपछि पूर्णरुपमा निको भएका छन् ।

साउदी सकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न उच्च सतर्कता अपनाएको पनि राजदूत राजपुतले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *