भारतमा फसेर त्यहीँ क्वारेन्टाइमा राखिएकी नेपाली महिलाले बच्चा जन्माइन, नाम कोभिड राखिन्

डिसी नेपाल
२४ चैत २०७६ १५:२७

काठमाडौं। कोरोनाभाइरसका कारण भारत २१ दिनको लागि लकडाउन गरिएको छ । यससँगै भारतमा कम्पनीहरुका साथै, होटल रेष्टुरेण्टहरु पनि बन्द छन् । बस, रेल विमान लगायतका सातायातका साधन पनि ठप्प छन् । लकडाउन भएपछि भारतमा काम गर्ने नेपालीहरु ठूलो संख्यामा नेपाल फर्किएका थिए । राजधानी नयाँ दिल्लीमा एक होटलमा काम गर्ने नेपाली दम्पती पनि भारतको उत्तर प्रदेश, बिहारका श्रमिकहरुसँगै फर्किंदै थिए । उनीहरु सबैलाई उत्तर प्रदेश प्रशासनले बाटोमै रोकेर क्वारेन्टाइमा राखिदियो ।

उत्तर प्रदेशको रामपुर जिल्लामा राजकीय आश्रम पद्धति इन्टर कलेजमा बनाइएको सेन्टरमा क्वारेन्टाइनमा राखिएका यी नेपाली दम्पती अहिले मातापिता बनेका छन् । श्रीमतीले क्वारेन्टाइनमै छोरा जन्माएको समाचार एजेन्सी एएनआइलाई उद्धृत गर्दै आज तकले जनाएको छ । रोचक त के भने यो दम्पतीले छोराको नाम कोभिड राखेका छन्, जुन कोरोनाभाइरसको वैज्ञानिक नाम हो । रामपुर प्रशासनले आमा र बच्चाको हेरचाहको लागि सबै व्यवस्था गरेको समाचारमा जनाइएको छ ।

यी दम्पती नेपालको बझाङ जिल्लाका भएको बताइएको छ । जीवन र हरिकला नामका ती दम्पतीले साथमै दिल्लीको एक होटलमा काम गर्थे । कोरोनाभाइरस संक्रमण फैलिएपछि लकडाउनको घोषणा भयो र होटल मालिकले काम गर्ने सबैलाई घर जान भने । त्यसपछि उनीहरु कहिले पैदल त कहिले संयोगले बाटोमा कुनै सवारी भेटिएमा त्यसैमा चढ्दै रामपुरसम्म आइपुगेका थिए । छोराको जन्मपछि जीवनले खुसी जनाउँदै त्यहाँ बस्न कुनै समस्या नभएको बताएका छन् । यद्यपि उनी आफ्नो घर पुग्न चाहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *