भूपू गोर्खा सैनिक राना त्रिभुवन विमानस्थलको थुनामा १९ दिनदेखि एक्ला ‘कैदी’

डिसी नेपाल
२७ चैत २०७६ ११:४२

काठमाडौं। कोरोना भाइरसले विश्वलाई आफ्नो चपेटामा लिएको छ। कोरोनाको महामारीसँगै विदेशमा भएका कतिपय नेपाली नागरिक स्वदेश फर्किएर आफ्नो परिवारसँग बसेका छन्।

विदेशबाट फर्किएका केही नागरिकमा कोरोना संक्रमण पनि देखिएको छ। अहिले उनीहरुलाई आइसोलेशनमा राखेर उपचार पनि भइरहेको छ।

तर विशेषबाट कोरोना भाइरस नलागेको प्रमाणपत्र पनि सँगै लिएर आएका पोखराका चन्द्रप्रकाश राना भने त्रिभुवन विमानस्थल अध्यागमन विभागको थुनामा कैद छन्।

राना बेलायती सेनाका भूपू गोर्खा सैनिक हुन्। तीन महिनाअघि उनी हङकङ गएका थिए। त्यसो त उनी नेपाल र हङकङ आवतजावत गरिरहन्छन्। किनभने नेपाली मूलका उनीसँग बेलायत र हङकङ दुवै देशको राहदानी छ।

कुनै बेला बेलायती सेनामा भर्ना भएका चन्द्रप्रकाशजस्ता धेरै भूतपूर्व गोर्खा सैनिकलाई बेलायतले नागरिकता दिएको छ। यही आधारमा चन्द्रप्रकाशले पनि बेलायती नागरिकता पाएका छन् तर उनले बेलायत टेकेका भने छैनन्।

बेलायती सेनामा कार्यरत रहँदा उनी हङकङमा खटिएका थिए। १९७७ मा बेलायतले हङकङ छोड्नुअघि पनि चन्द्रप्रकाश हङकङमै थिए। त्यही भएर उनी बेलायत गएनन् बरु हङकङमै बसे।

चन्द्रप्रकाश नेपाली मूलका बेलायती नागरिक भएपनि उनका श्रीमती र छोरा छोरी अहिले पनि नेपालमै छन्। उनको घर पोखरा हो। जेठी छोरी र ज्वाईँ भने हङकङमै बस्छन्।

उच्च रक्तचाप, मुटु रोग कोलस्टेरोलका रोगी चन्द्रप्रकाश रानाले मार्चमा नेपाल आउने योजना बनाए। उनी २१ मार्चमा नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौं आए।

त्यसपछि उनी अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा ‘कैद’ छन्। उनीमाथि प्रतिबन्ध लगाइएको समयमा प्रतिबन्ध लगाइएको मुलुकबाट नेपाल आएको आरोप लगाइएको छ।

शारीरिक रुपमा कमजोर रानाले नेपाल आउनुअघि हङकङस्थित नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गरेका थिए। उनले आफूसँग दुईवटा पासपोर्ट भएको जानकारी पनि गराएका थिए।

‘मैले नेपाल आउनुअघि हङकङमा रहेको नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गरेर आफूसँग दुईवटा पासपोर्ट रहेको र त्यसले केही समस्या पार्छ कि पार्दैन भनेर सोधेको थिएँ,’ १९ दिनदेखि अध्यागमनमा कैद भएका चन्द्रप्रकाश रानाले डिसी नेपालसँग भने, ‘उहाँहरुले दुई वटा पासपोर्ट भएर केही फरक नपर्ने बरु नेपाल जाँदा आफूलाई कोरोना नलागेको प्रमाण अस्पतालबाट बनाएर जानु भनेर सुझाव दिनु भयो।’

त्यो बेलासम्म आफूलाई नेपाल जाँदा कोरोना नभएको प्रमाण लिएर जानुपर्ने विषयमा जानकारी नभएको उनको भनाइ थियो।

महावाणिज्य दूतावासले भने बमोजिम नै रानाले अस्पतालमा गएर आफूलाई कोरोना संक्रमण नभएको प्रमाण पनि साथै लिएर आए। तर, नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेपछि उनी सोधै आफ्नो घर पोखरा जान पाएनन् बरु उनी आजका मितिसम्म पनि अध्यागमनमा ‘कैदी’ जीवन बिताइरहेका छन्।

नेपाल ओर्लेपछि उनलाई अध्यागमनका कर्मचारीले सरकारले युरोपबाट आउन मार्च २० देखि रोक लगाएको तर उनी २१ तारिखमा नेपाल आएको भन्दै आफ्नो नियन्त्रणमा लिएका थिए। रानासँग अन्य दुई जना नेपालीपनि सँगै आएका थिए। तर उनीहरुलाई दुई दिन नियन्त्रणमा राखेर अध्यागमनले छोडिदिएको रानाले बताए।

रानाले अस्पतालमा गएर आफूलाई कोरोना संक्रमण नभएको प्रमाण पनि साथै लिएर आए। तर, नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेपछि उनी सोधै आफ्नो घर पोखरा जान पाएनन् बरु उनी आजका मितिसम्म पनि अध्यागमनमा ‘कैदी’ जीवन बिताइरहेका छन्।

अध्यागमनका कर्मचारीलाई कसैले फोन गरेपछि उनीसँगै आएका दुई नेपालीलाई भने रिहा भइसकेका छन्। तर राना भने विगत १९ दिनदेखि अध्यागमनकै नियन्त्रणमा छन्। उनी कहिले रिहा हुने भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी नआएको उनले बताए।

युरोपेली देशका नागरिक भएता पनि राना युरोपबाट आएका भने होइनन्। उनी युरोपेली देशका नागरिक त हुन् तर उनी युरोपमा बस्दैनन् । सरकारले मार्च २० देखि लागू हुने गरी युरोपेली युनियनका सबै देश, बेलायत, पश्चिमी एसिया, खाडी देशहरु तथा इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन रोक लगाएको थियो तर हङकङ र यहाँसम्म कि कोरोनाभाइरसको इपिसेन्टर चीनबाट समेत आवागमनमा रोक लगाएको थिएन ।

अर्कोतर्फ राना नेपाल एयरलाइन्सको विमानबाट नेपाल आएका हुन्। नेपाल एयरलाइन्समा युरोपबाट उडेर नेपाल आउन सम्भव नै छैन किनकि नेपाल एयरलाइन्सले युरोपका कुनै पनि देशमा उडान गर्न नै पाउँदैन।

युरोपेली संघले नै सुरक्षा मापदण्ड पूरा नभएको कारण देखाउँदै नेपाल एयरलाइन्सलाई कालोसूचीमा राखेको छ र युरोपमा उडानमा प्रतिबन्ध लगाएको छ। यद्यपि नेपाल एयरलाइन्स चढेर हङकङबाट आएका रानाले भने बिना कारण युरोपबाट आएको अभियोगमा विमानस्थलमै कैदी बनेर बस्नुपरेको छ ।




प्रतिक्रिया

One thought on “भूपू गोर्खा सैनिक राना त्रिभुवन विमानस्थलको थुनामा १९ दिनदेखि एक्ला ‘कैदी’

  1. Sojho manchhe lai maukka chhoppera kasari rakkam hasurna sakkinchha bhanner pani huna sakchha.arko kura 2 weeks quarantine pachhi mukti paunu parchha ASAP.

Leave a Reply

Your email address will not be published. Required fields are marked *