जाल थाप्ने क्रममा दूधकोशीमा डुबेर सबिनको मृत्यु

डिसी नेपाल
३० चैत २०७६ १७:२९

खोटाङ । दूधकोशीमा डुबेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १५ वर्षीय सबिन राईको मृत्यु भएको छ । माछा मार्न जाल थाप्ने क्रममा सोही जालमा बेरिएर दूधकोशीमा डुबेका राईको आइतबार मृत्यु भएको हो ।

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने सोक्माटारस्थित झोलुङ्गे पुल नजीकै बिहान ११ः५५ बजे डुबेका सबिनको शव दिउँसो १ः३० बजे फेला पारिएको वडाध्यक्ष रुद्र राईले बताए । नदीमा डुबेपछि उद्धार गर्ने क्रममा खोजी गर्दा करीब ५० मिटर तल जालमै बेरिएको अवस्थामा उनलाई मृतावस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

सबिनको जेठा दाजु बृखधन राई सिकिस्त बिरामी भएर सामुदायिक अस्पताल ओखलढुङ्गा पठाइएकै दिन सबिनको नदीमा डुबेर ज्यान गएको स्थानीयवासीले बताएका छन् । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल झिकाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए । सबिन ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको महादेवस्थान माविमा कक्षा ९ मा अध्ययनरत रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *