पार्टी फुटे जिम्मेवारी नेतृत्वले लिनुपर्छ: डा. शशांक कोइराला
काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको असन्तुष्टि र विवाद समाधान गरी संगठनलाई गतिशील र एकताबद्ध बनाउने दायित्व वर्तमान नेतृत्वको भएको बताएका छन्।
४४ औँ वी.पी. स्मृति दिवसको अवसरमा एक वक्तव्य जारी गर्दै डा. कोइरालाले नेतृत्वले सबै नेता-कार्यकर्ताको स्वाभिमानको कदर गर्दै संवाद र सहमतिको वातावरण बनाउनुपर्नेमा जोड दिए।
“सहमति र सहकार्यको वातावरण निर्माण गर्न सके मात्र कांग्रेस एकताबद्ध हुन्छ,” वक्तव्यमा भनिएको छ, “अन्यथा पार्टीमा क्षति पुगेमा वा विभाजनको अवस्था आएमा त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले नै लिनुपर्छ।”
मुलुकले अहिले जटिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौती भोगिरहेको उल्लेख गर्दै उनले वी.पी. कोइरालाको ‘राष्ट्रिय मेलमिलापको नीति’ स्मरण गराए। लोकतान्त्रिक संस्थाहरूमाथि भइरहेको हस्तक्षेप चिर्न परिपक्व राजनीतिक सहकार्य र दूरदृष्टि आवश्यक रहेको उनको भनाइ छ।
डा. कोइरालाले पार्टीभित्रको गुटबन्दी, अविश्वास र अस्वस्थ प्रतिस्पर्धाले कांग्रेसलाई मात्र नभई नागरिकमा समेत नकारात्मक सन्देश जाने चेतावनी दिए। उनले विचारको भिन्नतालाई विभाजनको कारण नबनाई साझा निष्कर्षमा पुग्ने अवसरका रूपमा लिनुपर्ने बताए।
वी.पी. कोइरालाको विचार, राष्ट्रियता, लोकतन्त्र र समाजवादको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पार्दै उनले भने, “मलाई विश्वास गर्नुस्, म वी.पी.लाई जीवन्त राख्नेछु, कहिल्यै मर्न दिने छैन।”
वक्तव्यको अन्त्यमा डा. कोइरालाले व्यक्तिगत आग्रह-पूर्वाग्रह र समूहगत स्वार्थभन्दा माथि उठेर पार्टी एकता सुदृढ बनाउन सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई अपिल गरेका छन्।






डिसी नेपाल





Facebook Comment