विश्वध्वजासहित तीनवटै लिङ्गो उठेन

डिसी नेपाल
३० चैत २०७६ १९:४९

भक्तपुर । बिस्केटको चहलपहल हुने भक्तपुर सुनसान छ । प्रत्येकवर्ष चैत मसान्तका दिन भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले उठाउने हात नभएको लिङ्गो आइतबार उठाइएन । आज बिहान विधिपूर्वक पूजा गरेर उठाउनु पर्ने लिङ्गो नउठाएर सामान्य पूजा मात्रै गरिएको छ ।

बिस्केटजात्राको अवसरमा हरेक चैत मसान्तमा उठाएर वैशाख ५ गते लिङ्गो ढाल्ने परम्परा रहेपनि कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण लिङ्गो नउठाएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जानकारी दिए ।

यता भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने पचपन्न हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी उठाउनुपर्नेमा आइतबार नउठाइने भएको छ । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो उठाउने प्रचलन रहेपनि यसवर्ष लिङ्गो नउठाई सामान्य पूजा मात्रै गरिने भएको हो ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

त्यसैगरि मध्यपुर थिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि पनि लिङ्गो नउठाइने भएको छ । आज यहाँ लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिको ब्रत शुरु हुने र बैशाख २ गते जिब्रो छेडेपछि मात्रै ब्रत समाप्त हुने परम्परा रहेको छ । मध्यपुरथिमिमा मनाइने जात्रा पनि कोरोना भाइरसको प्रभाव रोक्नकै लागि नमनाइने भएपछि यहाँको लिङ्गो पनि नउठाइने भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *