वाहिरबाट आई धार्मिकस्थलमा आश्रय लिनेलाई पक्राउ गर्न आदेश

डिसी नेपाल
३ वैशाख २०७७ ४:२६

काठमाडौं । नेपाल सरकारले धार्मिकस्थलहरुमा वाहिरबाट आई आश्रय लिएर बस्ने समूहहरुलाई तत्काल पक्राउ गरी जांचबुझ गर्न र उनीहरुलाई क्वारेन्टाइनमा राख्न देशैभर आदेश जारी गरेको छ ।

तराईका जिल्लाहरुमा छिमेकी मुलुक भारतबाट आएका केही भारतीय नागरिकहरु मस्जिदमा बसेको र उनीहरुमा कोरोना भाइरसको संक्रमण भएको पाइएपछि सरकारले यस्तो आदेश जारी गरेको छ ।

नयाँवर्ष अर्थात् बैशाख १ गते देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा पठाइएको अत्यन्त जरुरी आदेशमा गृहमन्त्रालयको शान्ति सुरक्षा माहाशाखाका तर्फबाट हस्ताक्षर गरिएको छ।

सरकारी आदेशमा कुनै पनि धार्मिकस्थलहरुमा भेला जम्मा हुने स्थानहरुको तत्काल पहिचान गर्न र ती स्थानहरुमा मानिसहरु भेला जम्मा हुने गरे नगरेको यकिन गर्न सुरक्षाकर्मीहरु तत्काल खटाउनु पर्ने कुरा उल्लेख छ ।

स्रोतका अनुसार, एउटामात्रै धार्मिक समुदायलाई इंगित गर्दा विवाद आउन सक्ने भएकाले सबै धर्मावलम्बीहरुका धार्मिकस्थलहरुको नाम आदेशमा उल्लेख गरिए पनि भारतबाट आएका मुसलमान समुदायका व्यक्तिहरुबाट कोरोना संक्रमण बढेकाले मस्जिदहरुलाई निगरानीमा राख्न यस्तो आदेश जारी गरिएको हो ।

आदेशमा भनिएको छ,“जिल्लाभित्र रहेका मन्दिर,गुम्बा, चैत्य, विहार, मस्जिद, चर्चलगायत सामुहिक भेला जम्मा हुने सार्वजानिक स्थानहरु तत्काल पहिचान गरी तत् स्थानहरुमा मानिसहरु भेला जम्मा हुने गरे नगरेको, सामुहिक रुपमा आश्रय लिई बसे नबसेको स्थानीय तहहरुबाट सो सम्बन्धमा कुनै जानकारी प्राप्त भए नभएको छानविन यकिन गरी यदि भेला जम्मा हुने गरेको वा आश्रय लिई बसेको देखिए निजहरुलाई तत्काल नियन्त्रणमा लिई आवश्यकताअनुसार क्वारेन्टाइनमा राखी स्वास्थ्य परिक्षणसमेत गरी सो को विस्तृत विवरण २४ घण्टाभित्रै गृह मन्त्रालयमा पठाउनु हुन आदेशअनुसार अनुरोध छ ।”

गृह मन्त्रालयको यो आदेश नेपाल प्रहरी, सशस्त्र प्रहरीका महानिरीक्षकहरु र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई समेत पठाइएको छ ।

विगत दुईदिनमा बीरगञ्जमा तीनजना र सप्तरीमा दुईजनामा कोरोना संक्रमण देखिएका व्यक्तिहरु भारतबाट आएका मुसलमान समुदायका भएको र उनीहरु दिल्लीमा भएको एउटा मुस्लिम धार्मिक सभामा भाग लिएर नेपाल पसेको पत्ता लागेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *