र्‍यापिड टेष्टमा थप २ जनाको रिपोर्ट पोजेटिभ

डिसी नेपाल
३ वैशाख २०७७ ८:१७

सप्तरी । भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका दुई नेपालीको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आएको छ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार राति द्रुत परीक्षण किटबाट कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको सिनियर कन्सल्टेन्ट जनरल फिजिसियन डा रणजित झाले जानकारी दिए ।

तब्लिगी जमातद्वारा आयोजित सभाबाट आएका खडग नगरपालिकाका तीन, सुरुङ्गा नगरपालिका, अग्निसाइर कृष्ण सवरण, विष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकाका एक/एक गरी सात जनाको द्रुत परीक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले बताए ।

तीमध्ये खडग नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक÷एक जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

उनीहरुले दिल्लीको निजामुद्दीन मरकजमा सहभागी भएर फर्किएको ३२ दिन बितेको बताए पनि स्थानीयवासी भने चैत ११ गते घर फर्किएको बताउँछन्।

सप्तरी फर्किएका उहाँहरु घरमै बस्नुभएको थियो । रिपोर्ट पोजिटिभ आएपछि दुई जनालाई राजविराजस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ।

अस्पतालले सात जनाकै स्वाब परीक्षणका लागि राति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ । अन्य पाँच जनालाई खडग नगरपालिकास्थित क्वारेन्टाइनमा पठाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट दासले बताए ।

प्याकुरेलबाट सामग्री प्रदान

कोभिड–१९ नियन्त्रणमा सहयोग पुर्याउन राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले स्वास्थ्य तथा सुरक्षा सामग्री प्रदान गरेका छन् ।

स्वास्थ्य संस्थामा सुरक्षा सामग्री अभाव भइरहेका बेला प्याकुरेलले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई छ थान पिपिइ सेट, एक हजार मास्क र १० लिटर स्यानिटाइजर प्रदान गरेका छन् ।

मङ्गलबार नै उहाँले पैत्रिक भूमि छिन्नमस्ता गाउँपालिकाका लागि समेत एक हजार मास्क र पाँच लिटर स्यानिटाइजर प्रदान गरे ।

आधारभूत सामग्रीको अभावमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई समस्या नहोस् भनेर व्यक्तिगत तर्फबाट सुरक्षा सामग्री उपलब्ध गराएको जानकारी दिँँदै प्याकुरेलले मुलुक सङ्कटमा परेको बेला सबैले मिलेर सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *