असुरक्षित महसुस भएको भन्दै बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीले गरे उद्दारको माग

डिसी नेपाल
३ वैशाख २०७७ १७:०८

काठमाडौँ । बंगलादेशमा मेडिकल अध्ययनरत नेपाली विद्यार्थीले आफूहरुलाई नेपाल फर्काउन माग गरेका छन् । बंगलादेशका विभिन्न शहरहरुमा एमबीबीएस पढिरहेका उनीहरुले कोरोना भाइरसको संक्रमण बंगलादेशमा बढ्दै गएकोले असुरक्षित महसुस भएकाले उद्दार गर्न आग्रह गरेका हुन् । सरकारले स्वदेश फर्काउन पहल गर्नुपर्ने माग राख्दै उनीहरुले ढाकास्थित नेपाली राजदूतावासका राजदूतलाई निवेदन पेश गरेका छन् ।

नेप्लिज मेडिकल स्टुडेन्टस एसोसिएसन बंगलादेशका अध्यक्ष नविन यादवका अनुसार नेपाली विद्यार्थीहरु विगत ३ हप्ता भन्दा बढी समयदेखि आ-आफ्नो कलेजको होस्टल भित्र त्रासमय वातावरणमा बसिरहेका छन् । बंगलादेशमा करिब ६९० जना नेपाली विद्यार्थी अध्ययनरत रहेको यादवको भनाइ छ ।

ढाकामा रहेको इन्टरनेशनल कलेजमा मेडिकल पढिरहेकी रितु भण्डारीले स्वदेश फर्कन सरकारसँग चार्टर जहाजको व्यवस्थापन गरिदिन आग्रह गरेकी छिन् । चार्टर प्लेनको न्यूनतम लागत तिर्न आफूहरु तयार रहेको उनको भनाइ छ। नेपाल आइसकेपछि होम क्वारेन्टाइन वा राज्यले तोकेको क्वारेन्टाइनमा बस्न तयार रहेको उनले बताइन । चिकित्शा शिक्षा समाज र देशलाई सेवा गर्नका लागि पढिरहेको बताउँदै यो बेलामा देश फर्केर सेवा गर्नसमेत आफूहरु तयार रहेको भण्डारीको भनाइ छ ।

त्यस्तै रंगपुरको प्राइम मेडिकलमा अध्ययनरत अनु गुरुङले पनि आफू त्यहाँ असुरक्षित महसुस भएको बताइन । प्रायजसो रास्ट्रले आफ्ना विद्यार्थीहरुलाइ स्वदेर्श फर्काइसकेको बताउँदै नेपाल सरकारले कुनै पहल नगरेको गुनासो गरिन । उच्च जनघनत्व भएका कारण बंगलादेश कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको गुरुङको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *