बिना तलब, बिना सामान कतारबाट नेपाल डिपोर्ट गरिए नेपाली कामदारहरू

डिसी नेपाल
४ वैशाख २०७७ ११:१२

काठमाडौं। कतारी अधिकारीहरुले आप्रवासी कामदारहरुलाई कोरोनाभाइरस परीक्षण गर्दै भन्दै ढाँटेर नियन्त्रणमा लिने र गैरकानुनी तरिकाले निकाल्ने गरेको खुलासा भएको छ । मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था एम्नेष्टी इन्टरनेशनलको एक रिपोर्टअनुसार उसले कतारी पुलिसले पक्राउ गरेका २० जना नेपाली श्रमिकसँग अन्तरवार्ता गरेको थियो । यसअघि उसले सयौंको संख्यामा अन्य देशका आप्रवासी कामदारसँग पनि कुरा गरेको थियो ।

ती नेपाली श्रमिकहरुका अनुसार उनीहरुलाई पुलिसले पहिले कोभिड–१९ परीक्षण गर्न भन्दै लगेको थियो । परीक्षणपछि पुनः आफ्नै निवासमा फर्काउने भन्दै उनीहरुलाई लिएर गएको पुलिसले उनीहरुलाई परीक्षण गर्न नभइ डिटेन्सन सेन्टरमा पुर्याइयो र डरलाग्दो परिस्थितिमा नजरबन्दमा राखियो । केही दिन नजरबन्दमा राखेपछि उनीहरुलाई नेपाल पठाइयो ।

एम्नेष्टी इन्टरनेशनलको ग्लोबल डेपुटी डाइरेक्टर स्टिभ ककबर्नले भने ‘हामीले कुरा गरेका श्रमिकहरुमध्ये कसैले पनि किन उनीहरुलाई यसरी डिटेन्सन सेन्टरमा राखिँदैछ र देशबाट निकालिँदैछ भन्ने विषयमा कुनै जवाफ पाएका छैनन् । यहाँसम्म कि उनहिरुलाई नेपाल डिपोर्ट गरिनुअघि उनीहरुको कोठामा भएका आफ्ना सामानहरु समेत लिन पाएनन् ।’ ती कामदारहरु पुलिसको यो कामलाई चुनौती दिन सक्ने हैसियतमा समेत नभएको ककबर्नले बताए । कतारी अधिकारीहरुले कोरोनाभाइरसको महामारीलाई आप्रवासी कामदारहरुविरुद्ध शोषणको बहाना बनाएको भन्दै यो खेदजनक भएको ककबर्नले बताए ।

कतारी पुलिसले मार्च १२ र १३ मा कतारको इण्डष्ट्रियल एरिया, बारवा सिटी, लेबर सिटी लगायतका कतारका विभिन्न षेत्रबाट सयौंको संख्यामा आप्रवासी कामदारहरुलाई नियन्त्रणमा लिएको थियो । आवासबाट बाहिर खाद्यान्न, तरकारी लगायत अत्यावश्वक सामान खरिद गर्न गएका बेला उनहिरुलाई नियन्त्रणमा लिइएको थियो । यसरी नियन्त्रणमा लिइएका केही श्रमिकहरुका अनुसार उनीहरुलाई पुलिसले कोरोनाभाइरस परीक्षण गर्न लैजान लागेको र परीक्षणपछि कोठामै फर्काइदिने बताएको थियो । केही श्रमिकहरुले भने पुलिसले अरबी भाषामा बोलेको र आफूहरुले ‘कोरोना’ शब्द मात्र बुझेको बताएका छन् ।

केही श्रमिकहरूले प्रहरीले उनीहरूलाई खासगरी कोभिड–१९ परीक्षणको लागि लान लागेको र पछि उनीहरूको आवासमै फर्काइदिने भनी भनेको बताए । अन्य श्रमिकहरूले भने प्रहरीले अरेबिक भाषामा कुरा गरेको र आफूले कोरोना भन्ने शब्द मात्र बुझेको बताए ।

एकजनाले एम्नेस्टी इन्टरनेसनललाई भने, ‘हामीलाई पुलिसले कोरोनाभाइरस परीक्षणका लागि रोकिएको भन्यो । पुलिसले डाक्टर आएर जाँच्ने भनेको थियो तर उनीहरुले हामीलाई ढाँटे ।’ उनीहरुलाई बसमा कोचियो र इण्डष्ट्रियल एरियामा रहेको डिटेन्सन सेन्टरमा लगियो । उनहिरुका कागजात र मोवाइल फोन जफत गरियो अनि उनीहरुको फोटो खिचेर औंठाछाप समेत लिइयो । ती श्रमिकहरु फरक फरक देशका थिए । उनहिरुलाई आधारभूत सुविधासमेत नदिइ कोचेर राखियो ।

एकजना नेपालीले एम्नेस्टी इन्टरनेसनललाई भने, ‘जेल कोचाकोच थियो । हामीलाई दिनमा एउटा रोटी दियन्थ्यो जसले हामीलाई पुग्दैनथ्यो । सबैलाई भुइँमा राखिएको थियो र प्लाष्टिकमा खाना दिइन्थ्यो । भीडका कारण कैयौंले त खाना लिन समेत सक्दैनथे ।’ एम्नेष्टीले अन्तरवार्ता लिएका २० जना नेपालीमध्ये ३ जनाले मात्र उनीहरुको तापक्रम जाँच गरिएको बताए । नियन्त्रणमा राखिएका बेला मात्र उनहिरुलाई डिपोर्ट गर्न लागिएको जानकारी दिइएको थियो । केहीलाई १५ मार्च र केहीलाई १९ मार्चमा डिपोर्ट गरियो ।

कतिपयलाई आफ्नो सामान लिन केही मिनेट दिइएको थियो तर केहीले त्यो पनि पाएनन् । एकजनाले भने, ‘मलाई हथकडी लगाएर अपराधीलाई जस्तो व्यवहार गरियो । मलाई मेरो क्याम्पमा सामान लिनका लागि लगिएको थियो तर हात बाँधिएको अवस्थामा कसरी सामान लिनु ? सबैजसो श्रमिकहरूलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चढ्नुअघि र विमानबाट उत्रिएपछि काठमाडौँमा उनीहरूको शरीरको तापक्रम जाँच गरिएको थियो । पुलिसले उनीहरुलाई यस विषयमा विरोध गरे वा कतै उजुरी गरे कुनै अपराधमा फसाएर त्यतै थुन्ने धम्की समेत दिएको थियो ।

एम्नेस्टीले कुरा गरेका २० जना नेपालीमध्ये दुई जनाले मात्र आफूले काम गरेको कम्पनीले बाँकी तलब दिन सम्पर्क गरेको बताए । एक जनालाई दाहामै हिरासतमा रहेका बेला कम्पनीले नगदमै तलब दिएको थियो तर त्यो पैसा एकजना पुलिसले सुरक्षित राखिदिने भनेर लिएको र पछि फिर्ता नदिएको बताए । अर्कालाई कम्पनीले बैंकमा खाता खोल्न भनेको छ ।

सबै श्रमिकहरूले आफूले पाउने पारिश्रमिक र काम छाड्दा पाउने अन्य सुविधाहरू नलिइकन कतार छाडेका थिए । उनहिरुले कतारमा काम पाउनको लागि ठूलो लगानी गरेका थिए जसका लागि उनीहरुले चर्को ब्याजमा ऋण पनि लिएका थिए । एक श्रमिकले आफ्नो परिवार पाल्न निकै कठिन भएको बताए । अर्का एकजनाले आफूलाई साहुले धम्की दिइरहेको र पाँच जना छोराछोरी पाल्न संघर्ष गरिरहेको बताए ।

कतार सरकारले भने केही कामदारहरु गैरकानुनी र अनैतिक गतिविधिमा संलग्न रहेको अवस्थामा अधिकारीहरुले फेला पारेको दावी गरेको छ । कोभिड–१९ प्रतिकार्यका क्रममा औद्योगिक क्षेत्रमा निरीक्षण गर्दा यस्ता गतिविधिहरू फेला पारिएको भन्दै कतार सरकारले मानव स्वास्थ्यलाई गम्भीर रूपमा खतरामा पार्न सक्ने खतरनाक खाद्य वस्तु लगायतका निषेधित र प्रतिबन्धित वस्तुहरूको उत्पादन र बेचबिखन भएको भेटिएको दावी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *