पेट्रोलको भाउ बढ्दा सडकमा उत्रिने विद्यार्थी संगठन कोरोना महामारीमा के गर्दै छन्?

धनकुमार कार्की
९ वैशाख २०७७ १०:०१

काठमाडौँ । विश्व महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वभर टाउको दुखाइको विषय भएको छ।

नेपालमा पनि कोभिड १९ नियन्त्रण तथा रोकथामका लगि लकडाउन गरिएको झण्डै एक महिना पूरा हुन लागेको छ। लकडाउनका कारण यतिबेला सबैजसो क्षेत्रका मानिसलाई प्रभाव पारेको छ। विशेष गरेर दैनिक ज्यालामजदुरी गरेर खाने मजदुर मारमा परेका छन्।

यस्तै अध्ययनको शिलशिलामा कोठा भाडामा लिएर बसेका र सानोतिनो रोजगारी गरेर खर्च धानिरहेका विद्यार्थी वर्ग लकडाउनको मुख्य प्रभावित हुन। देशैभरिबाट अध्ययनको शिलशिलामा लाखौँ विद्यार्थी काठमाडौंमा रहेका छन्।

अधिकांश विद्यार्थी सानोतिनो रोजगार गर्दै अध्ययन गर्छन्। लकडाउनका कारण अधिकांशको रोजगारी गुमेको छ। त्यसकारण प्राय विद्यार्थीलाई दैनिक छाक टार्नमा पनि समस्या परेको छ।

विद्यार्थीको हकहितका लागि भनेर सञ्चालनमा रहेका विश्वविद्यालय लगायत आङ्गिक क्याम्पसमा विद्यार्थी संगठन र राजनीतिक दलका भातृ संगठनले दलीय स्वार्थको राजनीतिक अखडा बनाइएका छन्।

यतिबेलासम्म पनि विद्यार्थीको स्वतन्त्र संगठनमा दलीय स्वार्थ हेरेर पार्टीगत रुपमा चल्ने तर १५ वर्षदेखिको कालोपाटी र डेस्कबेन्च, बत्ति नबल्ने, झ्यालढोका पनि नभएको कक्षा कोठा सुधार गर्न कुनै पहल नगरेको गुनासो बारम्बार विद्यार्थीबाट सुनिन्छ।

पेट्रोलको भाउ बढ्दा सडकमा उत्रिएर आन्दोलन गर्ने, ठेक्कापट्टा, चन्दा असुली, नेताको वरिपरी बसेर आर्थिक अनियमितता गर्ने र आफ्नो पार्टी अनुकुल कुरामा बढी सक्रिय देखिने गरेका छन्।

देशका राजनीतिक पार्टीहरुमा सत्ता बाहिर हुँदा बिरोध गर्न र सत्तामा हुँदा पार्टी अनुकुल काम गर्ने विद्यार्थी संगठनहरु विद्यार्थीजस्ता नभई राजनीतिक दलको कार्यकर्ता भएर अघि बढेका पनि बिद्यार्थीबाटै सुनिन्छ।

विद्यार्थी वर्गमा कोरोना महामारीले निम्त्याएको यस बिषम परिस्थितिमा पनि विद्यार्थी संगठनहरुको पुरानै हबिगत देखिएको छ। विद्यार्थीको अभिभावक र हकहितको संरक्षक तथा समस्याको समाधान गर्ने भने केही संगठनहरुले राहतका कार्यक्रमहरु सञ्चालनमा ल्याएका थिए।

तर आफू अनुकुलका विद्यार्थीलाई मात्र बाँडेको भन्ने आरोप पनि लागेको छ। तर केही संगठनहरुले आजसम्म त त्यति पनि गर्न सकेका छैनन।

पहिले त कसैले आँट नगरे पनि पछिल्लो समय समस्या देखिएमा विद्यार्थीका समाधान गर्नमा निमित्त पहल गरिरहेको र विद्यार्थीका आधारभूत समस्या समाधानका लागि सम्बन्धित निकायलाई झक्झक्याउने काम गरिरहेको र आफैले पनि सक्दो खाद्य व्यवस्थापन गरी राहतस्वरुप बितरण गरिरहेको अनेरास्ववियूका संयोजक ऐन महर बताउँछन।

राहत बितरण गर्दा व्यवस्थापनमा कमजोरी भएका कारण केही भिडभाड हुन गएको र अहिले आवश्यक परेकाले फोन गरे घरघरमै राहत पुर्याउने र स्वयम सेवकको रुपमा काम गरिरहेको पनि बताए।

यस्तै नेबिसंघका संयोजक राजीब ढुङगानाले पनि सञ्चार माध्यममा यस्तै खाले प्रतिक्रियाहरु दिइरहेका छन्। अन्य संगठनहरु भने गुमनाम जस्तै भएर रहेका छन। यता संगठनले यस्ता खाले प्रतिक्रिया दिइरहँदा बास्ताबिक समस्यामा रहेका विद्यार्थीहरुको समस्याको समाधान भने हुन सकिरहेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *