पत्रकार महासंघ बागलुङ शाखाले पत्रकारलाई राहत दिँदै

डिसी नेपाल
११ वैशाख २०७७ १७:३१

काठमाडौं । कोभिड–१९को जोखिम हुन नदिन लकडाउन जारी भएपछि पत्रकार/सञ्चारकर्मीलाई आइपर्न सक्ने समस्यालाई दृष्टिगत गरी नेपाल पत्रकार महासंघ बागलुङ शाखाले राहत योजना अघि सारेको छ ।

विपद्का बेला जोखिम मोलेर कार्यक्षेत्रमा खट्ने पत्रकारलाई सघाउन हाल रहेको ‘पत्रकार कल्याणकारी कोष’लाई परिचालन गरिएको शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिए ।

उक्त कोषमा केही दिनअघि गायक प्रकाश सपूतलेसमेत ३५ हजार प्रदान गरेका थिए । शाखाको बुधबार बसेको बैठकले कोष पनि वृद्धि गर्दै जाने र समस्यामा परेका पत्रकारलाई राहत दिने निर्णय गरेको हो ।

“भर्खर समस्या परिहालेको अवस्था त छैन तर, लकडाउन लम्बियो भने पत्रकार पनि सङ्कटमा पर्ने देखिन्छ”, उनले भने, “त्यस्तो अवस्थामा महासंघले अभिभावकीय भूमिका खेल्छ, पत्रकारको दैनिक जीवनयापमा समस्या आउन हामी दिन्नौँ ।”

शाखाले कोही पत्रकारलाई तत्कालै राहत अथवा अन्य कुनै सहयोग चाहिने भएमा बिनासङ्कोच जानकारी गराउन सबैमा आग्रह गरेको छ । “अफ्टेरो मान्नु पर्दैन, हामी पत्रकारको कोठैमा राहत सामग्री पु¥याउँछौँ”, शाखा अध्यक्ष शिरीषले भने ।

‘पत्रकार कल्याणकारी कोष’लाई बढाउन स्थानीय तहलगायत अन्य निकायसँग सहकार्य गरिने शाखाले जनाएको छ । यसअघि पनि सञ्चार माध्यम र पत्रकारका लागि विशेष सहयोग÷राहत कार्यक्रम ल्याउन शाखाले स्थानीय तहलाई सार्वजनिक ‘अपिल’ गरेको थियो । स्थानीय तहले सङ्कटको घडीमा सञ्चार माध्यमको सबलीकरणमा अझ बढी ध्यान दिँदै बजेट परिचालन गर्नुपर्नेमा महासंघको जोड छ ।

शाखाले जिल्लाभर सक्रिय पत्रकारको व्यक्तिगत सुरक्षाका लागि थप गुणस्तरीय मास्क र सेनिटाइजर उपलब्ध गराउने भएको छ । गत महिना पनि ‘रोट्रयाक्ट क्लव अफ बागलुङ’को सहयोगमा शाखाले ति सामग्रीहरु वितरण गरेको थियो ।

शाखाले कोभिड–१९ को समाचार सङ्कन र सम्प्रेषणमा जिल्लाका पत्रकारले खेलेको भूमिकाकोसमेत प्रशंसा गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *