कोरोनाका बिरामीलाई घोप्टो पार्दा कसरी ज्यान जोगिन सक्छ?

डिसी नेपाल
११ वैशाख २०७७ १९:३९

बीबीसी । संसारभरि कोभिड-१९ का बिरामीहरू बढ्दै गर्दा अस्पतालमा उनीहरूको उपचारको दृश्य सञ्चारमाध्यममा अचेल निकै देखिन्छ। तर कतिपय त्यस्ता दृश्यमा सघन उपचारमा रहेका बिरामीहरूलाई अत्याधुनिक भेन्टिलेटरमा राखिएको तर उनीहरूलाई घोप्टो पारिएको देखिन्छ।

यो पुरानै विधि हो जसलाई ‘प्रोनिङ’ भनिन्छ र यसले श्वासप्रश्वाससम्बन्धी बिरामीलाई केही फाइदा पुर्‍याउने गरेको पाइन्छ। यसो गर्दा फोक्सोमा धेरै परिमाणमा अक्सिजन पुग्छ। तर यो विधिका केही जोखिम पनि छन्।

बिरामीहरूलाई कैयौँ घण्टासम्म घोप्टो पारेर राख्न सकिन्छ जसले गर्दा श्वासप्रश्वासमा अप्ठेरो पार्नेगरी फोक्सोमा जम्मा भएका हुन सक्ने तरल पदार्थ निस्किन्छ। यो विधिलाई कोभिड–१९ का गम्भीर बिरामीहरूमा प्रयोग गरिएको छ।

‘कोभिड–१९ भएका कैयौँ बिरामीहरूको फोक्सोमा पर्याप्त अक्सिजन पुगेको हुँदैन र त्यसले हानि पुग्छ,’ अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका सहायक प्राध्यापक एवं श्वासप्रश्वास रोगका विज्ञ डा. प्यानागिस गालियात्सातोसले बताए।

‘उनीहरूलाई अक्सिजन दिएर मात्र कहिलेकाहीँ पुग्दैन। त्यस्तो बेला हामी उनीहरूलाई घोप्टो पार्छौँ ताकि फोक्सो फैलिन पाउँछ।’ डा. गालियात्सातोसका अनुसार फोक्सोको सबभन्दा गह्रुङ्गो भाग हाम्रो पछिल्तिर हुन्छ। त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ। त्यसको साटो घोप्टो पार्दा अक्सिजनको प्रवाह बढ्छ अनि फोक्सोको विभिन्न भाग सक्रिय हुन पाउँछ।

‘यसले उल्लेख्य परिवर्तन गराएको देखिन्छ। हामीले कैयौँ बिरामीमा यसले काम गरेको देखेका छौँ,’ डा. गालियात्सातोसले बताए। मार्चमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले पनि घोप्टो पार्न सुझाएको छ। उसले गम्भीर श्वासप्रश्वासका अप्ठेरा बेहोरेका वयस्क कोभिड–१९ बिरामीहरूलाई दिनको १२ देखि १६ घण्टासम्म घोप्टो पार्न सुझाएको छ।

बालबालिकाको हकमा यो विधि उपयोग गर्न विचार गर्न सकिने तर त्यसको निम्ति थप विज्ञतासहितका प्रशिक्षित स्वास्थ्यकर्मी आवश्यक हुने डब्ल्यूएचओले बताएको छ। अमेरिकन थोर्‍यासिक सोसाइटीले फेब्रुअरीमा चीनको वुहान जिन्यिन्तान अस्पतालमा रहेका १२ जना कोभिड(१९ का बिरामीमा गरेको अध्ययन मा घोप्टो पारिएका बिरामीहरूको तुलनामा नपारिएका बिरामीहरूमा फोक्सोको फैलिने क्षमता कम पाइएको उल्लेख छ।

हेर्दा सामान्य लागेपनि घोप्टो पार्ने विधि जोखिमपूर्ण मानिन्छ। बिरामीलाई त्यसरी मिलाएर घोप्टो पार्न समय र प्रशिक्षित विज्ञ आवश्यक हुन्छ। ‘यो सजिलो छ‌ैन। प्रभावकारी रूपमा गर्न चारदेखि पाँच जना आवश्यक पर्छ,’ डा. गालियात्सातोसले भने। स्वास्थ्यकर्मीको अभाव भएको र ठूलो सङ्ख्यामा कोभिड–१९ का बिरामी ओइरिएका अस्पतालहरूमा यो विधिको उपयोग गर्न चुनौतीपूर्ण हुन्छ।

डा. गालियात्सातोसका अनुसार जोन्स हप्किन्स अस्पतालले घोप्टो पार्नका लागि एउटा टोली नै खटाएको छ। ‘त्यसैले यदि कोही कोभिड–१९ का बिरामी सघन उपचार कक्षमा छन् जहाँका स्वास्थ्यकर्मीमा यो अनुभव छैन उनीहरूले हाम्रा विज्ञ टोलीलाई बोलाउन सक्छन्।’

बिरामीलाई घोप्टो पार्दा अन्य जटिलता पनि उत्पन्न हुन्छ। ‘हाम्रो एउटा प्रमुख चिन्ता मोटोपना हो। साथै छातीमा चोट लागेका व्यक्ति वा भेन्टिलेशन ट्यूब वा क्याथिटर ट्यूब लगाएका बिरामीहरूलाई घोप्टो पार्दा अत्यन्त सावधानी अपनाउनुपर्छ।’ यो विधिलाई हृदयाघातसँग पनि जोडेर हेरिन्छ भने कतिपय अवस्थामा यसो गर्दा सास फेर्ने नलीमा बाधापनि पुग्छ।

 

घोप्टो पार्ने विधिको फाइदा सुरुमा सन् १९७० ताका देखिएको थियो। तर सन् १९८६ पछि मात्र यसलाई विश्वभरिका अस्पतालहरूले धेरै प्रयोगमा ल्याएको विज्ञहरू बताउँछन्। यो विधिलाई सुरुमा अध्ययन गर्ने र उपयोगमा ल्याउने डाक्टर लुसियानो गाट्टिनोनी हुन्। उनी हाल इटलीको मिलानको यूनिभर्सिटा स्टाटालमा प्राध्यापक हुन्।

प्राध्यापक गाट्टिनोनीले बीबीसीलाई बताएअनुसार सुरुसुरुमा यो विधिबारे निकै आपत्ति जनाइएको थियो। ‘तर अचेल यो व्यापक प्रयोग हुन्छ,’ उनले भने।फोक्सोमा धेरै अक्सिजन पुग्नु मात्र यसको फाइदा नभएको उनले बताए। ‘बिरामीहरूलाई घोप्टो पार्दा, फोक्सोमा पर्ने चाप सबै भागमा बराबर फैलिन्छ,’ प्राध्यापक गाट्टिनोनीले बताए।

‘भेन्टिलेटरको मेकानिकल ऊर्जा फोक्सोमा पठाइएको दृश्य एक पटक कल्पना गर्नुहोस्। त्यो भनेको लगातार मुक्का प्रहार गरिएको जस्तै हो। यदि त्यो शक्ति बराबर रूपमा फोक्सोको सबै भागमा फैलियो भने त्यसले पुर्‍याउने हानि पनि कम हुन्छ।’

यो शताब्दीको सुरुमा यो विधिका फाइदाबारे अन्य अध्ययनहरूले पनि समर्थन जनाए। ‘फ्रान्समा सन् २००० मा गरिएको एक अध्ययनमा घोप्टो पारिएका बिरामीहरूमा राम्ररी अक्सिजन प्रवाह भएको र उनीहरूको बाँच्ने सम्भावना बढेको देखिएको थियो।’

मुख्य कुरा यो एउटा यस्तो विधि हो जसले हालसम्म कुनै उपचार नभएको रोगसँग लड्न एउटा उपाय दिन्छ। ‘अहिलेको लागि हामीले यस्ता विधिको प्रयोग गर्नु उचित नै हुन्छ,’ डा. गालियात्सातोसले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *