प्रदेश नं २ मा कोरोना रोकथामका लागि टोली गठन

डिसी नेपाल
१३ वैशाख २०७७ २२:२३

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले स्वाब सङ्कलन कार्य तीव्ररुपमा शुरु गरिएको छ । केन्द्रबाट खटिएका छ वटा र यस प्रदेशका दुई वटा स्वास्थ्यकर्मी टोली गरी आठ टोलीले प्रदेशका आठवटै जिल्लामा स्वाब सङ्कलन कार्यलाई तीव्रता दिएको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

यस प्रदेशमा शुक्रबारसम्ममा ६६६ जनाको स्वाब सङ्कलन गरिएको थियो भने आज ६२४ जनाको समेत गरी अहिलेसम्म एक हजार २९० जनाको स्वाब सङ्कलन गरिएको छ । प्रादेशिक अस्पताल जनकपुरस्थित प्रयोगशालामा स्वाबको परीक्षण कार्य निरन्तररुपमा भइरहेको छ । यस प्रयोगशालाको क्षमता कम भएकाले बढीमात्रामा स्वाब सङ्कलन भएपछि टेकुस्थित प्रयोगशालालगायतका प्रयोगशालामा परीक्षणका लागि पठाउने गरिएको उहाँले जानकारी गराए ।

जनकपुरस्थित प्रादेशिक अस्पताललाई लेभल–२ को कोभिड अस्पताल बनाउने नेपाल सरकारको नीतिअनुरुप यही वैशाख १२ गते साँझसम्ममा आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी अब आइसोलेशनमा राखेर कोरोना सङ्क्रमितको उपचारको व्यवस्था मिलाइएको छ भने महोत्तरीको जलेश्वरस्थित अस्पताललाई ५० श्ययाको विशेष आइसोलेशन वार्डका रुपमा परिणत गरिएको उनले बताए ।

कोरोना महामारी रोकथाम नियन्त्रण कार्य प्रभावकारी ढङ्गले गर्नका लागि ‘प्रोभिजनल इन्सिडेन्ट कमान्डिङ’ टिम गठन गरिएको छ । सो टोलीमा चिकित्सक, जनस्वास्थ्य विज्ञ र निजामति कर्मचारीको सहभागिता रहनेछ । यस टिमले जनशक्ति व्यवस्थापन, सामग्री व्यवस्थापन, सञ्चार व्यवस्थापनका साथै योजना तथा साधनस्रोत परिचालनलगायतका कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

यस्तै कोरोना महामारीलाई प्रभावकारीरुपमा रोकथामका लागि धनुषा, महोत्तरी र सर्लाहीलाई कलस्टरका रुपमा वर्गीकरण गरिएको छ । जनशक्ति परिचालन, प्रयोगशाला परीक्षण तथा स्वास्थ्य सामग्री आपूर्तिका लागि प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डा नागेन्द्र यादवको अध्यक्षतामा ‘कमाण्ड टिम’ गठन गरिएको छ । सो टिममा तीन वटै जिल्लाका अस्पताल प्रमुख र स्वास्थ्य प्रमुख सदस्यका रुपमा रहेका सचिव डा घिमिरेले जानकारी गराए ।

यसका साथै यस प्रदेशमा अहिलेसम्म चार हजार ४४८ जनाको आरडिटी परीक्षण गरिएको छ । सोअन्तर्गत सप्तरीमा ७२६, सिरहामा ३३९, धनुषामा ३५६, महोत्तरीमा १६३, सर्लाहीमा १२५, बारामा १४१ र पर्सामा दुई हजार १२१ जनाको परीक्षण गरिएको हो ।

यस प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित पाँच जनामध्ये वीरगञ्जका तीन जना र रौतहटका एक जना गरी चार जनाको दोस्रो पटकको परीक्षण पनि नेगेटिभ आएको उनले बताए। यस प्रदेशमा अहिलेसम्ममा एक हजार ४२७ जना क्वारेन्टाइनमा, एक हजार ६३९ होम क्वारेन्टाइनमा र २३ जना आइसोलेशनमा रहेका छन् ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *