कतारमा २३ सय भन्दा बढी नेपाली कोरोना संक्रमित भएको अपुष्ट तथ्यांक सार्वजनिक

डिसी नेपाल
१८ वैशाख २०७७ १५:३७

काठमाडौँ । कतारमा २३ सय भन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएको अपुष्ट तथ्यांक बाहिर आएको छ । कतारको सरुवा रोग निवारण विभागका अनुसार कुल संक्रमित संख्याको २० प्रतिशत बिरामी नेपाली रहेको बताइएको छ ।

मार्च २८ तारिख मंगलबार विभागले निकालेको तथ्याङ्कमा कुल संक्रमितको २० प्रतिशत नेपाली रहेको बताइएको छ । मंगलबारसम्म कतारमा ११ हजार ९ सय २१ जनामा कोरोनाको संक्रमण देखिएको थियो । तीमध्ये १ हजार १ सय ३४ जना उपचारपछि निको भएका थिए, भने १० जनाको निधन भएको थियो ।

विभागले निकालेको तथ्याङ्क अनुसार मंगलबार सम्म २ हजार ३ सय ८४ जना नेपालीमा कोरोनाको संक्रमण भएको देखिन्छ । यद्यपि यो तथ्याङ्कको आधिकारिक पुष्टी भने हुन सकेको छैन । संक्रमितमध्ये सबैभन्दा धेरै ३२ प्रतिशत भारतीय नागरिक रहेका छन् भने दोस्रोमा २० प्रतिशत नेपाली, तेस्रोमा बंगलादेशका १८ प्रतिशत रहेका छन् । त्यस्तै कतारी ६ प्रतिशत, पाकिस्तानका ६ प्रतिशत, फिलिपिन्सका ४ प्रतिशत, इजिप्टका ३ प्रतिशत, श्रीलंकाका २ प्रतिशत, सुडान, केन्या, जोर्डन, युगाण्डा, सोमलिया र पेलास्टानीका एकएक प्रतिशत छन् भने अन्य देशका ३ प्रतिशत रहेका छन् ।

 

तर, कतारको सम्बिन्धत निकायले यस विषयमा आफूलाई केही जानकारी नगराएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारका लागि नेपाली राजदूत डाक्टर नारदनाथ भारद्वाजले आफूले पनि बाहिर आएको तथ्याङ्क देखेको बताए । ‘मैले पनि बाहिर आएको त्यो तथ्याङ देखेको थिएँ । त्यो पूर्ण आधिकारिक हो कि होइन हामीलाई जानकारी आएको छैन’ उनले डिसी नेपालसँगको टेलिफोन सम्पर्कमा भने ‘हामीले सम्बन्धित निकायमा संक्रमित नेपालीको विवरण उपलब्ध गराइदिन पत्राचार गरेका छौँ । विवरण प्राप्त भएपछि मात्रै थाहा हुन्छ । ’

उनका अनुसार ठ्याक्कै प्रतिशतमा भन्न नसकिए पनि नेपालीहरु संक्रमित भने भएका छन् । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । तसर्थ दूतावाससँग यकिन तथ्याङ छैन । तर, पनि दूतावासले आफ्नो तरिकाले संक्रमित नेपालीहरुसँग सम्पर्क तथा समन्वय गरिरहेको उनको भनाइ छ ।

कतारमा कोरोना संक्रमित बिरामीहरुको सरकारले नै निःशुल्क रुपमा उपचार गरिरहेको उनले बताए । उपचारमा कतारी नागरिक तथा विदेशी नागरिकलाई कुनै पनि भेदभाव नरहेको उनले बताए । ‘यहाँ कतारी नागरिक र विदेशी नागरिक भनेर त्यस्तो कुनै भेदभाव छैन । बिरामीको उपचार सरकारले नै निःशुल्क रुपमा गरिरहेको छ ’ उनले भने ‘कोरोनाको संक्रमण देखिएका नेपालीहरुको अस्पतालमै उपचार भैरहेको छ । हाम्रो सम्पर्कमा आउनु भएकारुले पनि राम्रै उपचार तथा हेरचाह पाएको बताउनु भएको छ ।’

राजदूत भारद्वाज सबैलाई सम्मान व्यवहार गरेकै कारण कतारले संक्रमितको राष्ट्रियता नखुलाएको हुनसक्ने बताउँछन् । कतारमा संक्रमण बढ्दै गएपछि दूतावासमा विभिन्न गुनासो गर्ने नेपालीहरुको संख्या पनि बढेको उनले बताए । दूतावासमा आउने त्यस्ता गुनासोहरुको व्यवस्थापन गर्न दूतावास क्रियाशील रहेको उनको भनाइ छ ।

कतारमा बुधबार सम्म संक्रमितको संख्या बढेर १२ हजार ५ सय ६४ पुगेको छ । तीमध्ये १ हजार २ सय ४३ जना उपचारपछि निको भएका छन् । पछिल्ला दिनहरुमा नयाँ केसहरु घट्दो क्रममा रहेको राजदूत भारद्वाजले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *