को को मुख्यमन्त्री फेरिँदै छन् ?

मदन कोइराला
२२ वैशाख २०७७ ७:००

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाक अध्यक्ष के पी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको पछिल्लो सहमतीअनुसार, मुख्यमन्त्री तथा आफ्नै सचिवालयको समेत हेरफेर तयार भएका छन् । उनले यसबारे आवश्यक तयारी गर्न स्वयं प्रचण्ड र महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार यस्तो जिम्मेवारी दुई नेतालाई सुम्पेका हुन् । उनीहरुले बैशाख २४ गते बस्ने पार्टी सचिवालयको बैठकमा हेरफेरसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

पार्टीभित्र अर्का नेता माधवकुमार नेपालले आफूपक्षका व्यक्तिहरुलाई जिम्मेवारी विहीन बनाएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीको राजीनामा माग गरिरहेका बेला दुई अध्यक्षहरुको साझा प्रस्तावले नेता नेपालको माग कत्तिको सम्बोधन हुन्छ त्यो हेर्न केही दिन कुर्नुपर्नेछ । तर, प्रश्नचाहिं के मौका आउंदा आफ्ना मान्छे छाडेर नेता नेपालका मान्छे सिफारिस गर्न अध्यक्ष दाहाल तयार होलान् भन्ने हो ।

स्रोतका अनुसार नेता नेपाल अष्टलक्ष्मी शाक्यलाई प्रदेश नं ३ को मुख्यमन्त्री बनाउन चाहान्छन् तर अध्यक्ष दाहाल भने आफ्नो समूहका नेतालाई प्रदेश ५ को मुख्यमन्त्री बनाएर त्यहांका मुख्यमन्त्रीलाई काठमाडौंमै जिम्मेवारी दिन चाहन्छन् ।

विगत लामो समयदेखि प्रधानमन्त्रीको सचिवालय विवादमा पर्दै आएका कारण ओली र प्रचण्ड प्रदेश नं ५ का हालका मुख्यमन्त्री शंकर पोख्रेललाई प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा नियुक्त गर्न चाहान्छन् ।

विगत लामो समयदेखि प्रधानमन्त्रीको सचिवालय विवादमा पर्दै आएका कारण ओली र प्रचण्ड प्रदेश नं ५ का हालका मुख्यमन्त्री शंकर पोख्रेललाई प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा नियुक्त गर्न चाहान्छन् ।

त्यसैगरी प्रधानमन्त्रीको सचिवालयका अन्य पदहरुमा पनि केही हेरफेर हुनसक्ने स्रोतले बताएको छ । यही मौकामा केही मन्त्रीहरुको हेरफेर र रिक्त मन्त्री पदहरुमा पनि नियुक्तिका लागि सिफारिस गरिने छ ।

सरकारले वैशाख १० गते राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक परिषद सम्बन्धी दुई वटा अध्यादेश जारी गरेपछि सुरु भएको नेकपा विवाद शनिबारको सचिवालय बैठकपछि फेरि माधव नेपाललाई थप किनारा लगाउने गरी मथ्थर भएको छ ।

केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा गराउने एकमात्र माग लिएर आक्रमकरुपमा प्रस्तुत भएका नेपाल र प्रचण्डको समूह फेरि टुटेको बताइएको छ। पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड किन पछि हटे ? तथ्यहरु सार्वजनिक भइसकेका छैनन् ।

तर स्रोतका अनुसार गत मंसिर पाँच गते भएको सहमति अनुसार २४ गते बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले लिखित रुपमा पार्टीको सम्पूर्ण काम कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्डलाई गर्न दिन सहमत भएका छन् ।

‘उहाँले (ओली) ले अध्यक्षबाट राजीनामा नै दिने भन्ने त होइन, तर पार्टीको सम्पूर्ण काम प्रचण्ड कमरेडलाई गर्न दिने लिखितरुपमै सहमति गर्न प्रधानमन्त्री तयार हुनु भएको छ,’ स्रोतले भन्यो, ‘योसँगै प्रधानमन्त्रीले आफ्नो सचिवालयका सदस्य हेरफेर गर्ने पनि सहमति भएको छ।’

उच्चस्रोतका अनुसार नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि उत्तरी छिमेकी चीनले समेत मिलेर जान प्रधानमन्त्री ओलीलाई सुझाव दिएको थियो। नेकपाभित्रको विवादका विषयमा चिनियाँ राजदूत होउ यान्छीले चिनियाँ राष्ट्रपति सि जिन पिङलाई रिपोर्टिङ गरेकी थिइन्।

उनले ओली सरकार  र त्यसका कारण बारेमा ब्रिफिङ गरेपछि चिनियाँ राष्ट्रपतिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई फोन गरेका थिए।चिनियाँ राष्ट्रपति सीले मिलेर जान र सबैलाई विश्वासमा लिएर अगाडि बढ्न राष्ट्रपति भण्डारीमार्फत प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।

शनिबार सचिवालय बैठक बस्नुअगाडि प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए।सो क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीको सन्देश प्रधानमन्त्री ओलीलाई सुनाएकी थिइन्।चिनियाँ सन्देशपछि प्रधानमन्त् ओलीले प्रचण्डलाई चिनियाँ राष्ट्रपतिको सन्देश सुनाएको र मिलेर जान सहमत भएको स्रोतको दाबी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *