साउदी अरबमा निजी क्षेत्रका कामदारको ४० प्रतिशत तलब कटौती, लाखौं नेपाली मारमा पर्ने

डिसी नेपाल
२३ वैशाख २०७७ १४:५२

काठमाडौं। कोरोनाभाइरसले विश्वव्यापी आर्थिक संकट सृजना गरेको छ । यही संकटका बीच विश्वका सबैभन्दा धनी देशहरुमध्येको एक साउदी अरबमा पनि अर्थतन्त्रमा निकै खराब असर परेको छ । धनी देश भएर पनि साउदीमा आगामी दिनमा जीवन निकै कठिन हुने भएको छ । साउदी अरब सरकारले निजी क्षेत्रका कम्पनीहरुलाई कामदारको तलब ४० प्रतिशतसम्म कटौती गर्न अनुमति दिने भएको छ ।

साउदी अरबको प्रमुख अखबार अशराक अल अवसातको रिपोर्टअनुसार आर्थिक संकटलाई मध्यनजर गर्दै साउदी अरबमा काम गरिरहेका कामदारहरुको सम्झौता समेत समाप्त गरिन सक्नेछन् । साउदी अरबमा करिब ४ लाख नेपाली काम गर्छन् । यो फैसलाले उनीहरुमाथि पनि ठूलो आर्थिक संकट आउनेछ । अखबारले निर्णयको प्रतिको हवाला दिँदै सोमबार लेखेअनुसार साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले श्रम कानुनमा परिवर्तनको लागि स्वीकृति दिएको छ ।

यी परिवर्तनपनि रोजगारदाताले आफ्ना कर्मचारीको तलबमा ६ महिनासम्मको लागि ४० प्रतिशतसम्म कटौती गर्न सक्नेछन् । नयाँ नियमअनुसार कोरोनाभाइरसको महामारीको ६ महिनापछि कम्पनीहरुले कर्मचारीको सम्झौता रद्द गर्न सक्ने अधिकार पनि पाउनेछन् । यद्यपि रोजगारदाताहरुले सम्झौता रद्द गर्ने निर्णय हतारमा नगरुन् भन्ने उद्देश्यले सरकारले उनीहरुलाई मजदूरको तलब भत्तामा सहयोग वा सरकारी शुल्कमा छुट जस्ता केही सहयोग गरिरहनेछ ।

कामदारको सम्झौता रद्द गर्नको लागि तीन शर्त राखिएका छन् । कम्पनीले यी तीन शर्तहरु पूरा गरेपछि मात्र कामदारसँगको श्रम सम्झौता रद्द गर्न पाउनेछन् । यी तीन शर्तहरु हुन् – तलबमा कटौतीको निर्णय लागू गरिएको ६ महिना पूरा भएको हुनुपर्नेछ, कामदारले पाउने सबै विदा सकिइसकेको हुनुपर्नेछ र कम्पनीले आफूले कोरोनाभाइरसको महामारीका कारण आर्थिक संकटको सामना गरिरहेको प्रमाणित गर्नुपर्नेछ ।

अशराक अल अवसातको रिपोर्टअनुसार मन्त्रीमण्डलको यो फैसलालाई साउदी अरब सरकारले पारित गर्न बाँकी छ । सरकारले मन्जुरी दिएपछि यसलाई देशभरी लागू गरिनेछ । साउदीका अर्थमन्त्री मोहम्मद अल जदानले शनिबार भनेका थिए कि कोरोना भाइरसको महामारीले अर्थव्यवस्थामा जुन क्षति भएको छ, त्योसँग जुध्नको लागि कडा र पीडादायी फैसला लिइनेछ । उनले यो संकटबाट निस्किनको लागि सबै विकल्प खुला भएको बताएका थिए ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ऐतिहासिक गिरावटका कारण तेल निर्यात गर्ने देश साउदी अरबलाई ठूलो नोक्सानी भएको छ । साउदी अरबको केन्द्रीय बैंकमा विदेशी मुद्रा भण्डारणमा मार्च महिनामा आएको गिरावट विगत २० वर्षकै सबैभन्दा तीब्र हो । विदेशी मुद्रा भण्डारलाई सन्तुलित राख्न साउदीले यस वर्ष २६ अर्ब डलर ऋण लिने विचार गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *