भक्तपुर र कोटेश्वरमा दैनिक ६०० लाई निःशुल्क खाना

डिसी नेपाल
२४ वैशाख २०७७ १०:५४

काठमाडौँ । बन्दाबन्दीको समयमा नेपाल स्वयंसेवक सङ्घले भक्तपुर र कोटेश्वरका विभिन्न स्थानमा निःशुल्क खाना खुवाइरहेको छ।

सङ्घका अध्यक्ष सन्तोष निरौलाले बाटोमा अलपत्र परेका मानिस, मजदुर, विद्यार्थी, कोठामा बस्ने र अस्पतालका बिरामीलाई गत चैत १५ गतेदेखि निःशुल्क खाना खुवाइरहेको जनाए ।

सङ्घले बिहान ९।३० देखि १२ र साँझ ५ः३० देखि ९ बजेसम्म भक्तपुर, थिमि, सूर्यविनायक, भक्तपुर क्यान्सर अस्पताल र कोटेश्वरका विभिन्न स्थानमा पुगेर खाना खुवाउने गरेको छ।

“पकाएको खाना गाडीमा राखेर ती स्थानमा जाने गरेका छौँ” सङ्घकी उपाध्यक्ष सीता सुवेदीले भने, “अनि बाटोमा हिँडिरहेका मानिस र मजदुरलाई खाना दिन्छौँ”, उनले विभिन्न सङ्घसंस्थासँग खाद्यान्न मागी खाना बनाएर खुवाएको बताए ।

खानामा दाल, तरकारी, भात र अचार रहने गरेको छ। खानाका लागि प्लाष्टिकका सामान प्रयोग गरिएको हुन्छ।

उनका अनुसार खाना खुवाउनका लागि ३० स्वयंसेवक परिचालन गरिएको छ । पहिले दैनिक १५० जनालाई खाना खुवाउँदै गरेकामा अहिले ६०० जना पुगेका छन्।

बिहान ३०० हुन्छन् भने साँझपख भने मानिसको सङ्ख्या बढ्ने गर्दछ । सङ्घले विसं २०७२ को भूकम्प र विभिन्न ठाउँमा गएको बाढीपहिरोमा समेत यसैगरी खाना खुवाउने गरेको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *