कतारको औद्योगिक क्षेत्र सनैया खोलियो, प्रवेश गर्न र बाहिरिन मापदण्ड तोकियो

डिसी नेपाल
२४ वैशाख २०७७ १५:४६

काठमाडौँ । कतारको औद्योगिक क्षेत्र सनैया निश्चित मापदण्डसहित खोलिएको छ । ठूलो संख्यामा आप्रवासी कामदार बस्ने सनैया औद्योगिक क्षेत्रमा लगाइएको लकडाउन केही प्रावधानसहित खोलिएको छ । सनैयाको सडक नम्बर १ देखि ३२ को क्षेत्र खुला गरिएको हो । यो क्षेत्रमा मात्रै झण्डै ५० हजार नेपाली कामदार बस्दै आएका छन् ।

जीसीओका अनुसार बुधबारदेखि यो क्षेत्रको आवागमन केही प्रावधान सहित सुचारु गर्न अनुमति दिइएको हो । उच्चस्तरीय संकट व्यवस्थापन समितिले सडक नम्बर १ र २ नम्बर क्षेत्रमा राखिएका कामदारलाई अन्य ठाउँमा बनाइएका विशेष क्वारेन्टाइनमा सारेपछि यो क्षेत्रलाई खोलिएको हो ।

अब यस क्षेत्रमा रोजगारदाताहरुले र कामदारहरुले आवतजावत गर्न पाउनेछन् । यस क्षेत्रमा रोजगारी दिने रोजगारदाताबाहेक बाहिर बस्ने तर यस क्षेत्रमा काम गर्ने कामदार तथा यहाँ बस्ने तर बाहिर काम गर्ने कामदारले आवतजावत गर्न पाउनेछन् । यस क्षेत्रमा आवतजावत गर्नेहरुले ‘एहतेराज’नामको मोवाइल एप डाउनलोड गर्नुपर्नेछ । यही मोवाइल एपमार्फत चेकजाँच गरेपछि मात्र यहाँ प्रवेश गर्न र बाहिर निस्किन पाइनेछ ।

यस क्षेत्रमा रहेका कम्पनीहरूले वाणिज्य र उद्योग मन्त्रालय र प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयमा निवेदन दिएर मात्रै सामग्री र उपकरण ढुवानी गर्न पाउने व्यवस्था गरिएको छ ।

त्यसैगरि रोजगारदाता कम्पनीले आफ्ना कामदारहरुलाई उचित बासस्थान उपलब्ध गराउने, बसमा आधा सिटमा मात्र कामदार चढाउने, मास्क र सेनिटाइजर उपलब्ध गराउनु पर्ने तथा कोरोना भाइरस बिरुद्ध लड्न कतार सरकारले अपनाएका सबै किसिमका सुरक्षाका उपायहरु अनिवार्य रुपमा अपनाउनु पर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *