नारायणी अस्पतालमा रियल टाइम मेशिनबाट स्वाबको परीक्षण

डिसी नेपाल
२४ वैशाख २०७७ २०:४५

जनकपुरधाम । प्रदेश नं २ को वीरगञ्जस्थित नारायणी अस्पतालमा जडान गरिएका ‘रियल टाइम मेशिन’बाट स्वाबको नमूनाको परीक्षण मङ्गलबारबाट शुरु भएको छ । यस मेशिनबाट तत्काल प्रतिदिन दुई चरणमा ७२ वटा स्वाबको नमूना परीक्षण गरिने छ ।

प्राविधिक जनशक्ति व्यवस्थापन सहज भएपछि प्रतिदिन तीन चरणमा स्वाबको परीक्षण गर्न सकिने छ । मेशिनबाट एक चरणमा ३६ वटा स्वाबको नमूना परीक्षण गर्ने क्षमता रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

नेपाल सरकारले कोरोना भाइरस रोकथाम र उपचारका लागि प्रदेश नं २ को सरकारलाई मङ्गलबार विभिन्न प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । स्वाब सङ्कलनमा प्रयोग गरिने भाइरल ट्रान्सपोट मिडियम (भिटिएम) एक हजार थान, पिसिआर कुलसेट १०० थान, आरडिटी कीट १०० थान, शरीरको तापक्रम नाप्ने थर्मल मेशिन १०० थान र स्वास्थ्य सचेतनामूलक सामग्री सात हजार थान उपलब्ध भएको सचिव डा घिमिरेले जानकारी दिए । ती सचेतनामूलक सामग्री स्वास्थ्य संस्था र समुदायमा वितरण भइरहेको छ ।

नेपाल सरकारले यस प्रदेशलाई कोरोनाको ‘उच्च जोखिम’ क्षेत्र घोषणा गरेको छ । सो कारणले हतोत्साहित र त्रसित हुने आवश्यकता नरहेको तर थप सतर्कता र सावधानी अपनाउनुपर्ने जरुरी रहेको छ । यस प्रदेशको सिमाना भारतसँग जोडिएको छ । खुला सिमानाका कारण लुकीछिपी भारतबाट आवतजावत हुने सम्भावनालाई नकार्न नसकिने अवस्था रहेकोतर्फ उनले सचेत गराए ।

दुई देशको आपसी समन्वयमा दुवैतर्फको क्वारेन्टाइनमा एक अर्काको नागरिकलाई राख्ने सहमतिअनुरुप राखिएको छ । भारतको क्वारेन्टाइनमा यस प्रदेशका केही नागरिक बसेका छन् । उनीहरुको प्रदेशमा प्रवेशपश्चात थप क्वारेन्टाइनको आवश्यकता पर्छ । सो कारण स्थानीय तह र स्थानीय प्रशासनलाई पूर्वतयारी गर्न अग्रसर हुन उनले आग्रह गरे ।

यस प्रदेशमा आजसम्ममा दुई हजार ६६१ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये दुई हजार ३४६ को रिपोर्ट नेगेटिभ आएको छ भने १३ जनाको रिपोर्ट पोजिटिभ आएको छ । पोजिटिभमध्येबाट अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा ११ जनाको उपचार भइरहेको छ । यस प्रदेशमा पछिल्लो २४ घण्टासम्ममा पाँच हजार ३४८ को आरडिटी परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *