स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा : सभामुख

डिसी नेपाल
२६ वैशाख २०७७ १३:३५

काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिम हुन नदिइ संसद बैठक सञ्चालन गर्न सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै मापदण्ड पूरा गरिएको जानकारी दिएका छन्।

उनले भने,“ वर्तमान परिस्थितिमा सङ्घीय संसद्को बैठक शुरु गर्नुपर्ने आवश्यकता छ। बैठकका लागि कोरोनाको जोखिम हुन नदिन आवश्यक सबै मापदण्ड पूरा गरिएको छ।”

सञ्चारकर्मीसँगको भेटमा आज उनले विश्व स्वास्थ्य सङ्गठनले निर्देशन गरेका मापदण्ड पूरा गरी स्वास्थ्य क्षेत्रका विज्ञसँगको समन्वयमा बैठक सञ्चालनको तयारी गरिएको र सबै सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको बताए।

संवैधानिक व्यवस्थाअनुसार अगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि पूर्वतयारीका छलफल तथा अन्य कार्यक्रमका लागि हाल बजेट अधिवेशन प्रारम्भ गर्नुपरेको उनको भनाइ थियो।

कोरोना सङ्क्रमण रोकथामका लागि सतर्कता अपनाउन सांसद बस्ने सिटमा दायाँबायाँ एक मिटर ५० सेन्टीमिटर र पछाडि एक ३० सेन्टीमिटर दूरी कायम गरिएको छ। त्यसैगरी संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुने भएपछि कोभिड–१९ भए/नभएको निक्र्योल गर्न दुवै सदनका सांसद्, कर्मचारी तथा मर्यादापालक गरी ४४१ जनाको बिहीबार थ्रोट स्वाब सङ्कलन गरिएको थियो।

सङ्घीय संसद्का प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ सांसद छन् । बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारीको आज स्वास्थ्य परीक्षण गरिने जनाइएको छ। बिहीबार सङ्कलित स्वाबको रिर्पाेट ढिलामा आज अपराह्न ३ बजेसम्म आइपुग्ने र त्यसका आधारमा प्रवेश गराएर मात्र बैठक सञ्चालन गर्ने तयारी गरिएको छ।

सभामुख सापकोटाले आज अपराह्न ४ बजे संसद् बैठक प्रारम्भ हुने, यही वैशाख २८ गतेदेखि ३० गतेसम्म प्रि बजेट छलफल हुने, आगामी जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने, जेठ १३ गते आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट प्रस्तुत हुने कार्यक्रम तय भएको जानकारी दिए। राष्ट्रपतिले यही वैशाख २१ गते प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारका लागि आह्वान गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *