सेतीनदी जलविद्युतको काम, बन्दाबन्दीमा पनि धमाधम

डिसी नेपाल
२७ वैशाख २०७७ ७:४०

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाको भराभरीमा निर्माण गर्न लागिएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको निर्माण कार्य शुरु भएको छ ।

बुटवलको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट प्रवर्दित सो आयोजनाको काम जारी बन्दाबन्दीका यही वैशाख २२ गतेदेखि शुरु भएको हो । कूल रु पाँच अर्ब लगानीमा निर्माण गरिने आयोजनाको शुरुआतमा सिभिल निर्माणतर्फको सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी) खन्ने काम भइरहेको छ ।

दैनिक चारवटा एक्साभेटर र दुईवटा गाडीबाट बेसिन खन्ने र माटो व्यवस्थापन थालनी गरिएको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगत पोखरेलले बताए । बेसिनसँगै निर्माणसँगै ‘एप्रोच क्यानल’ निर्माणको कामसमेत भइरहेको बताइन्छ । ६० मिटर लम्बाइ र २३ मिटर चौडाइको बेसिन २२ मिटर गहिरो बन्नेछ ।

आगामी २५ देखि २७ महिनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार कोरोना सङ्क्रमण त्रासको हालको विषम परिस्थितिमा समेत आवश्यक सुरक्षाका उपाय अवलम्बन गरेर काम शुरु गरिएको अध्यक्ष पोखरेलको भनाइ छ ।

आयोजनामा काम गर्ने कामदार तथा मेशिन चलाउने अपरेटरलाई अन्य बाहिरी व्यक्तिसँगको सम्पर्कबाट टाढा राखिएकाले समेत सङ्क्रमणको सम्भावित जोखिमको अवस्था नरहेको बताइन्छ ।

‘आयोजनालाई निर्धा्रित समयभित्र सम्पन्न गर्न अहिलेको असहज अवस्थामा समेत काम अघि बढाइएको छ । सरकारले तय गरेका सबै प्रकारका प्रोटोकलको पालना गर्दै निर्माण कार्यमा संलग्न मजदुरलगायत अन्य प्राविधिक कर्मचारी सेल्फ क्वारेन्टाइनमा बसेर सुरक्षित तरिकाले काम गरिरहनुभएको छ’, अध्यक्ष पोखरेलले भने ।

भराभरीमा आयोजनाको बाँध निर्माण गरी ६ हजार ४०० मिटर लामो भूमिगत पाइप बिछ्याएर पोखरा महानगरपालिका–१९सँग सीमा जोडिएको चिन्ते बगरमा निर्माण गरिने विद्युत गृहमा १८७ मिटर उचाइबाट खसालिने छ ।

आयोजनाबाट उत्पादित विद्युत् चार किमी दूरीमा रहेको गाउँपालिकाको वडा नं ४ लाहाचोकमा निर्माणाधीन सवस्टेशनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ । आयोजनाको सिभिल वर्कको जिम्मा रसुवा लुना जेभीले पाएको थियो । रु एक अर्ब २० करोड लागतमा २७ महिनाभित्रमा सम्पन्न गर्र्ने गरी गत माघमा सिभिल कन्स्ट्रक्सनको जिम्मा रसुवाले पाएको हो ।

सिभिल वर्कको कामसँगै आयोजनाको हाइड्रोमेकानिक, इलेक्ट्रोमेकानिकल्स र ट्रान्समिसन(प्रशासरण लाइन) को काम अघि बढाउन निर्माण व्यवसायी छनोटका लागि बोलपत्र आह्वान भइसकेको पोखरेलले जानकारी दिए ।

एक महिनापछि आयोजनाको कङ्क्रिटलगायत सबै क्षेत्रको निर्माण कार्य अघि बढ्ने विश्वास व्यक्त गर्दै उनले गाउँपालिका तथा वडाबाट प्राप्त सहयोगले काममा ऊर्जा मिलेको बताए ।

अध्यक्ष पोखरेलले भने, ‘यहाँको गाउँपालिका, वडाध्यक्ष तथा स्थानीयवासीबाट आयोजनाका लागि प्राप्त सहयोगले तोकिएको समयभित्रमा आयोजना सम्पन्न भएर विद्युत् उत्पादन हुनेमा हामी विश्वस्त छौँ । ऊर्जामा गण्डकी प्रदेश तथा समग्र राष्ट्रलाई आत्मनिर्भर बनाउनका लागि निजी क्षेत्रबाट सञ्चालित यस आयोजना महत्वपूर्ण छ ।’

धेरैभन्दा धेरै स्थानीयवासीको लगानी, प्रदेश र स्थानीय सरकारको सहयोग तथा हिउँदयाममा समेत नदीमा पानी नघट्ने र प्रसारण लाइन निर्माणमा सहजता आयोजनाका लागि सकारात्मक पक्ष रहेको प्रालिले जनाएको छ । आयोजना शुरु भएसँगै यस क्षेत्रमा ‘एग्रो टुरिजम’ र ‘हाइड्रो टुरिजम’को विकासमा सघाउने विश्वास लिइएको छ ।

आयोजनाको कूल लागतमध्ये ७० प्रतिशत विभिन्न बैंक, वित्तीय संस्था तथा निजी क्षेत्रबाट जुटाइनेछ भने बाँकी रकम लुम्बिनी ऊर्जा प्रालिले लगानी गर्नेछ । आयोजनामा लगानीका लागि स्थानीयवासीसमेत उत्साहित देखिएका छन् । स्थानीयवासी ४०० जनाले आयोजनामा लगानी गरेको परियोजना प्रबन्धक लेखनाथ पाण्डेले जानकारी दिए ।

आयोजनाले उत्पादन गरेको विद्युत् वर्षायाममा ६ महिना चार रुपैयाँ ८० पैसा र हिउँदयाममा आठ रुपैयाँ ४० पैसा प्रतियुनिटमा विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता यसअघि नै भइसकेको छ ।

सो जलविद्युत् आयोजना निर्माण शुरु भएसँगै आयोजनाले स्थानीयवासीलाई समेत विभिन्न सहयोग गर्दै आएको छ । खेलकूद, शिक्षा र स्वास्थ्यका क्षेत्रका केही सहयोग गरिएको बताउँदै परियोजना प्रबन्धक पाण्डेले आयोजनामा रोजगारीका लागि स्थानीयवासीलाई प्राथमिकता दिइने बताए ।

केही दिनअघि आयोजनाले गाउँपालिका र वडा नं २ को स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो । ‘पर्यटन, कृषि, ऊर्जा र पूर्वाधारः समृद्ध माछापुच्छ्रेको मूल आधार’ लाई अवलम्बन गरेको माछापुच्छ्रे गाउँपालिकाले निर्माण शुरु गरिएको जलविद्युत् आयोजनालाई अघि बढाउन स्थानीय सरकारबाट आवश्यक सम्पूर्ण सहयोग उपलबध गराइने गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ बताउँछन् ।

कठिन अवस्थामा समेत आवश्यक सुरक्षाका उपाय अवलबम्वन गर्दै आयोजना सञ्चालन गराउनका लागि गाउँपालिका आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।

‘गाउँपालिकाभित्र रहेका सेती, मर्दी र इदी नदीमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना छ, जलसम्पदाको उपयोग गरी विद्युत् उत्पादनका माध्यमबाट गाउँपालिकालाई समृद्ध बनाउने अभियानमा हामी छौँ । बाह्य लगानी आकर्षित गर्ने तथा आयोजना सञ्चालनका क्रममा आइपर्ने समस्या समाधानमा स्थानीय सरकार प्रतिबद्ध रहेको छ’, अध्यक्ष गुरुङले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *