कोरोनाको जोखिमकाबीच म्याग्दीमा बढ्यो डेङ्गु संक्रमण, संक्रमितको संख्या ९ पुग्यो

डिसी नेपाल
२७ वैशाख २०७७ १०:११

म्याग्दी । कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच म्याग्दीमा डेङ्गुको सङ्क्रमण पनि फैलिन थालेपछि यहाँको जनजीवन त्रसित बन्न पुगेको छ।

म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । योसँगै अहिलेसम्म म्याग्दीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ।

बेनी नगरपालिका–५ भिरमुनि र बेनी नगरपालिका–६ छापाका दुई युवामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले जानकारी दिए ।

“डेङ्गुको उच्च जोखिममा छौँ, यसवर्ष हामीलाई डेङ्गुले सताउने सङ्केत देखिएको छ”, डा बस्ताकोटीले भने । गत हप्तासमेत भिरमुनि र छापाका दुई जनामा डेङ्गु पोजेटिभ देखिएको थियो।

यससँगै बेनी नगरपालिकामा छ, मङ्गलामा दुई र मालिका गाउँपालिकामा एक जना डेङ्गुका बिरामी भेटिएका छन्।

बिरामी जिल्ला बाहिरबाट नआएको अवस्थामा ग्रामीण क्षेत्रमै सङ्क्रमित भेटिनुले समयमै सचेत बन्नुपर्ने डा बस्ताकोटीको भनाइ छ । शुक्रबार भेटिएका दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।

बिरामीमा मनोविज्ञैनिक असर पर्ने भएकाले स्वस्थ्यकर्मीले सङ्क्रमितको नाम र थरबारे जानकारी दिएका छैनन् ।

डेङ्गुले प्रकोपको रूप लिनसक्ने जोखिमलाई मध्यनजर गरी नगरभित्रका वडामा सचेतनामूलक कार्यक्रमसँगै डेङ्गुरोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने अभियानलाई तीव्र पारेको छ।

गत वर्ष म्याग्दीमा १२ जनामा डेङ्गु र एक जनामा स्क्रबटाइफस देखिएको थियो ।

डेङ्गु ज्वरो एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो।

एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै डेङ्गुको सङ्क्रमण फैलिने बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *