रुपन्देहीकाे तिलोत्तमामा आइसोलेशन सेन्टर तयार

डिसी नेपाल
२७ वैशाख २०७७ १२:४८

रुपन्देही । तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा आइसोलेशन सेन्टर निर्माण गरेको छ।

कोरोना संक्रमणको पूर्वतयारीअन्तर्गत तिलोत्तमाले शंकरनगर स्वास्थ्यचौकीमा आइसोलेसन सेन्टर बनाएको हो।

नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्यचौकीलाई आइसोलेशन सेन्टरका रुपमा तयार गरिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

केन्द्रका लागि एकएक चिकित्सक नर्स नियुक्त गरिएको छ। बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शका आधारमा सेन्टर निर्माण गरिएको स्वास्थ्यचौकी इञ्चार्ज केशव भट्टराईले बताए ।

दश शय्याको सेन्टरमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको उनले बताए ।

सेन्टरमा आइसियु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ।

केन्द्रम बिरामीको २४ सै घण्टा सेवा दिने गरी स्वास्थ्यकर्मीको व्यवस्थापन हुने चिकित्सक संजोग पाठकले जानकारी दिए ।

नगरपालिकाले आफ्नै स्रोतमा दुई चिकित्सक तथा एक स्टाफ नर्स नियुक्त गरेको छ । दश स्वास्थ्य संस्थामा झण्डै ८० कर्मचारी कार्यरत छन्।

बुटवल कोरोना अस्पतालले पठाएका जुन कुनै पनि ठाउँका बिरामीलाई सेन्टरमा राखेर उपचार गरिने डा पाठकले बताए ।

उनका अनुसार सेन्टरमा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट, मेट्रोन र कोरोना फोकल पर्सन डा. सुदर्शन थापाको सुझावका आधारमा काम भइरहेको छ।

हालसम्म क्वारेन्टाइनबाट ९९ जनाले सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले कोरोनाका कारण गरिएको लकडाउनबाट प्रभावित विपन्न वर्गका लागि तेस्रो चरणको राहत वितरण गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *