प्रदेश २ मा तीन हजार ५२० स्वाब सङ्कलन

डिसी नेपाल
२८ वैशाख २०७७ १२:०२

महोत्तरी । कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा हालसम्म तीन हजार ५२० जनाको स्वाब परीक्षण (पिसीआर) का लागि नमूना सङ्कलन गरिएको छ।

शनिबार ३४७ जनाको स्वाब सङ्कलन गरिएपछि यो सङख्या तीन हजार ५२० पुगेको हो।

प्रदेशको पर्सा जिल्लामा सङ्क्रमण बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाको छप्कैया बस्तीमा सघन स्वाब सङ्कलन जारी राखिएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयको कार्यालय जनकपुरधामले जनाएको छ।

प्रदेशमा हालसम्म स्वाब सङ्कलन गरिएमध्ये दुई हजार ४४७ को नतिजा प्राप्त भएको कार्यालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।

जसमध्ये दुई हजार ४१६ को नतिजा नेगेटिभ र ३१ जनाको पोजेटिभ पुष्टि भएको छ । एक हजार ७३ को भने रिपोर्ट आज साँझसम्म प्राप्त हुने झाको भनाइ छ।

पोजेटिभ नतिजा आएमध्ये तीन भारतीयसहित २५ जना पर्साका छन् । त्यसबाहेक रौतहटका तीन, बाराका दुई र सर्लाहीका एक जना भएको कार्यालयले जनाएको छ।

सङ्क्रमितमध्ये निको भएर घर फर्केका तीन भारतीय र एक रौतहटका व्यक्तिमा स्वास्थ्य समस्या बल्झिएपछि फेरि अस्पतालमा ल्याइएको छ। यद्यपि यी फेरि अस्पताल ल्याइएकामा कोभिड–१९ नभइ अन्य स्वास्थ्य समस्या बल्झिएको जनाइएको छ।

प्रदेशका आठवटै जिल्लामा स्वाब सङ्कलन तीव्र बनाइएको छ । खासगरी पर्साको वीरगञ्ज र उदयपुरसँग सीमा जोडिएका सिरहा र सप्तरीमा स्वाब सङ्कलन अभियानकै रूपमा सञ्चालन गरिएको वरिष्ठ स्वास्थ्य अधिकृत झाको भनाइ छ।

प्रदेशको जनकपुरस्थित प्रादेशिक अस्पताल र वीरगञ्जस्थित नारायणी अस्पतालमा स्वाब परीक्षण र सङ्क्रमितको उपचार गरिने व्यवस्था छ । जनकपुरमा ४२ र नारायणीमा यस्ता बिरामी ५० जना राख्न सकिने श्यया छन्।

यसबाहेक महोत्तरीको जलेश्वर अस्पताल र बाराको कलैया अस्पतालमा उपचारका लागि थप श्यया व्यवस्था गर्न लागिएको निर्देशनालयले जनाएको छ।

प्रदेशभरिमा अहिले ४५ जना शङ्कास्पद आइसोलेसनकक्षमा राखिएका छन् । हाल प्रदेशका क्वारेन्टाइन केन्द्रमा एक हजार ३९२ र स्वास्थ्यकर्मीको प्रत्यक्ष रेखदेख हुने गरी घरमै क्वारेन्टाइनमा रहनेको सङ्ख्या चार हजार ५१२ छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *