मन्त्रिपरिषदमा प्रधानमन्त्रीले भने–सीमा विवादबारे जथाभावी नबोल्नू

डिसी नेपाल
३० वैशाख २०७७ १४:५६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे जथाभावी नबोल्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्। उनले सीमा विवादका विषयमा सत्यतथ्य र सप्रमाणमात्रै बोल्न मन्त्रीहरुलाई निर्देशन दिएका हुन्।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले भारतले नेपाली भूमिभित्र सडक बनाएको विषयमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले भारतले सीमा अतिक्रमित गरेको विषयमा शंका नभएको उल्लेख गर्दै सीमा विवादको विषयमा जथाभावी नबोल्न मन्त्रीहरुलाई निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए।

‘भारतले नेपाली भूमि अतिक्रमित गरेको विषयमा शंका छैन, सीमा विवाद वार्ताको माध्यमबाट समाधान गर्नुपर्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘तर अहिले सीमा विवादका विषयमा जथाभावी बोल्ने होइन। यो विषय वार्तामार्फत नै समाधान गरिन्छ।’

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि अतिक्रमित गरी सडक बनाएपछि हालसम्म भएका घटनाक्रममा बारेमा ब्रिफिङ गरेका थिए। मन्त्री ज्ञवालीले सोमबार भारतीय राजदूत विनय मोहन क्वात्रालाई परराष्ट्रमन्त्रालयमा बोलाएर कुटनीतिक नोट दिएको बताएका थिए।

भारतले नेपाली भूमि अतिक्रमित गरेर चीनको सीमासम्म पुग्ने सडक बनाएपछि अहिले मुुलुकमा सडकदेखि सदनसम्म विरोध चर्किएको छ। अतिक्रमित नेपाली भूमि फिर्ता गर्न भन्दै दैनिक जसो मुलुकभित्र प्रदर्शन हुने गरेका छन् भने संसदभित्र यो विषयले प्रवेश पाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *