गोलबजार घटना : सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय समितिद्वारा स्थानीयस्तरमा छलफल
सिरहा । सुनसरीको कप्तानगञ्ज घटनाको प्रभावस्वरूप सिरहाको गोलबजारमा भएको झडप र प्रहरीको गोली लागेर १५ वर्षीय गणेश यादवको ज्यान गएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिले स्थानीयस्तरमा छलफल तथा अनुसन्धान तीव्र बनाएको छ।
गृह मन्त्रालयद्वारा सहसचिव पुष्पराज शाहीको नेतृत्वमा गठित उक्त समितिले घटनास्थलको अवलोकन, प्रमाण संकलन र विभिन्न पक्षसँग भेटघाट गर्दै छानबिन प्रक्रिया अगाडि बढाएको हो।
समितिले सोमबार गोलबजारका विभिन्न घटनाग्रस्त क्षेत्रहरूको अनुगमन गरेको थियो। त्यसपछि मंगलबार बिहान गोलबजार नगरपालिकामा सर्वदलीय बैठक बसी घटनाबारे विस्तृत जानकारी लिइएको छ।
यसैगरी, दोस्रो चरणमा गोलबजार उद्योग वाणिज्य संघका अध्यक्ष विजय साहसहितका व्यवसायीहरूसँग बैठक बसेर आन्दोलनका क्रममा भएको क्षति, घटनाको पृष्ठभूमि तथा व्यवसायीका गुनासाबारे समितिले जानकारी लिएको छ। तेस्रो चरणमा मुस्लिम समुदायका प्रतिनिधिहरूसँग छुट्टै बैठक गरी घटनाको कारण, प्रभाव र क्षेत्रमा सामाजिक सद्भाव कायम गर्ने उपायहरूबारे छलफल गरिएको गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिएका छन्।
छानबिन समितिका संयोजक सहसचिव पुष्पराज शाहीले सुनसरीमा सुरु भएको घटनाको प्रभाव सिरहाको गोलबजारसम्म कसरी फैलियो, आन्दोलनका क्रममा गोली चल्नुपर्ने अवस्था किन आयो र गणेश यादवको मृत्यु कसरी भयो भन्ने विषयलाई केन्द्रमा राखेर छानबिन भइरहेको बताएका छन्।
उनले पहिलो प्राथमिकता गोलीकाण्डको सत्यतथ्य उजागर गर्दै घटनाको सम्पूर्ण पृष्ठभूमि अध्ययन गरेर प्रतिवेदन गृह मन्त्रालयमा पेस गर्ने रहेको जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment