जेठ १५ मा पूर्ण बजेट : अर्थमन्त्री

डिसी नेपाल
३१ वैशाख २०७७ १८:५१

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संविधानिक व्यवस्था अनुसार जेठ १५ गते नै पूर्ण आकारको बजेट ल्याउने जानकारी दिएका छन् । बुधबार संघिय संसदको व्यवस्थापिका संसदमा बजेटका प्राथमिकता र सिद्धान्तबारे सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै उनले आर्थिक वर्षको सुरुमै सानो आकारको बजेट ल्याउने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।

“हालको यथार्थताका आधारमा ताकिएकै समयमा बजेट आउँछ” अर्थमन्त्री खतिवडाले भने, “मानिसको जीवनकै अनिश्चितता रहेकोमा केही कुराको निश्चितता हुदैन । बजेट पर सार्ने कुरा नगर्नुहोस् ।”

मंगलबार संसदमा कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल कोरोनाको प्रभाव कस्तो रहने अनिश्चित रहेकाले जेठ १५ गते सानो आकारको बजेट ल्याएर साउनमा मात्र पूर्ण आकारको बजेट ल्याउन सुझाव दिएका थिए ।

अर्थमन्त्री खतिवडाले मानव जीवन रक्षा नै बजेटको पहिलो प्राथमिकता भएको भन्दै स्वास्थ, शिक्षा, खानेपानी जस्ता सामाजिक क्षेत्रमा राज्यको लगानी बढाउने स्पष्ट पारे । कोभिड १९ को संक्रमणका बेलामा ति क्षेत्रमा राज्यको लगानी नहुदा जनताले दुख पाएका उदाहरणहरुबाट नै सरकार यसबारे स्पष्ट भएकोले सामाजिक क्षेत्रमा लगानी बढाउने बताए । राज्यले अवलम्बन गरेको तीनखम्वे अर्थनीति अनुसार नै निजी क्षेत्रलाई व्यवसाय र उत्पादनतर्फ फोकस गराउने सामाजिक क्षेत्रमा भने सरकारले नै लगानी बढाउने गरी बजेट निर्माण भइरहेको उनले स्पष्ट पारे ।

त्यसैगरी विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउनुपर्ने संसदहरुको मागको विषयमा जवाफ दिदै खतिवडाले भने,‘ भावनामा नबहकिनुहोस्, प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्र प्रमूखसँग उनीहरुको सुरक्षाको कुरा गरिरहनुभएको छ, नेपालसँग दौत्यसम्बन्ध भएका देशहरुका दुतावासले उनीहरुको हेरचाह गरिहेका छन् यस्तो अवस्थामा उनीहरुलाई नेपाल ल्याउनु भन्दा उतै राम्रो व्यवस्था गर्नुपर्छ र गरिरहेका छौ ।

मन्त्री खतिवडाले जनतालाई भोकबाट बचाउन न्यूनतम आर्थिक कृयाकलाप जारी राखिएको जानकारी दिए । “केही आर्थिक क्षेत्रमा लगानी बढाएन रोजगार कसरी बढाउनेरु, त्यसैले आर्थिक कृयाकलापहरुमा राज्यले लगानी बढाउनुका साथै नीजी क्षेत्रसँग सहकार्य पनि जरुरी रहेको छ, यस्तो बेलामा न्युनतम आर्थिक क्रियाकलापहरु निरन्तर राखिएन भने रोगबाट त बचिएला तर भोकबाट बचिदैन” उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *