हालसम्म ६६ हजारले गरे कोरोना बिमा

डिसी नेपाल
१ जेठ २०७७ १८:०५

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढिरहेका बेला करिब ६६ हजार सर्वसाधारणले कोरोना भाइरसको बीमा गरेका छन् ।

मंगलबारसम्ममा ५ हजार ५० बीमा लेखबाट ६६ हजार ८ सय ६० जनाको कोरोना बिमा गरिएको नेपाल जीवन बिमक संघका अध्यक्ष दीप प्रकाश पाण्डेले जानकारी दिए । यसबाट बिमा कम्पनीहरुले ३ करोड ६३ लाख बिमा शुल्क संकलन गरेका छ ।

कोरोना भाइरसविरुद्ध बिमा गर्न अन्तर्राष्टिय पुर्नबिमा कम्पनीहरु समेत हिचकिचाइरहेको अवस्थामा नेपामाल बिमा समिति, २० वटा निर्जीवन बीमा कम्पनी र पुर्नबिमा कम्पनीले सहकार्य गरी कोरोना भाइरस बीमालेख सुरु गरेका हुन । लघुबीमा पुलको माध्यमबाट जारी गरिएको बीमालेख नाफा भन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्वका आधारमा गरिएको पाण्डेले बताए।

बीमा समितिले बैशाख पहिलो साताबाट कोरोना बीमा लेख सुरु गर्न कम्पनीहरुलाई निर्देशन दिएको थियो । ग्रामिण क्षेत्रसम्म न्युन आय भएको मानिसहरूमा जोखिम बढेकाले उनीहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न बीमा योजना अघि सारिएको समितिले जनाएको छ।

समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुले ५० हजार र एक लाख रुपैयाँ बराबर बिमांक बराबरको बीमा लेख जारी गर्न सक्नेछन् । ५० हजार रुपैयाँ बीमांक बराबरको बीमा लेख जारी गर्दा एक जनाको मात्र सुरक्षणमा प्रतिव्यक्ति ५०० रुपैयाँ र परिवारका सबै सदस्यको समेत बीमा गर्दा प्रतिव्यक्ति ३०० रुपैयाँ बीमा शुल्क लिन पाउनेछन् । यसैगरी एक लाख रुपैयाँ बिमांक बराबरको बीमा पोलेसी जारी गर्दा व्यक्तिगत बिमामा एक हजार रुपैयाँ र परिवारका सबै सदस्यको गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ बीमा शुल्क तोकिएको छ।

कम्पनीहरुले कोरोना भाइरस बीमा लेख जारी गर्दा हाल कायम लघुबीमा जस्तै अघि बढाउन समितिले निर्देशन दिएको छ । यो बीमालेख पनि अन्य लघुबिमा जस्तै लघुबिमा पुलमार्फत जारी गर्न सकिने व्यवस्था गरिएको छ ।

समितिले कृषि र घुम्ती बीमा संचालन गर्न तोकिएका जिल्लाहरुका कम्पनीहरुले अनिवार्य रुपमा कोरोना भाइरस बीमा लेख समेत जारी गर्नुपर्नेछ ।

कोरोना भाइरसको बीमा लेखको १५ दिन प्रतिरक्षा अवधि तोकिएको छ । यस अवधि सकिएपछि पीसीआर रिपोर्ट पोजेटिभ देखिएमा बीमितले दावी भुक्तानी प्राप्त गर्नेछन् ।

समितिका अध्यक्ष चिरञ्जीवी चापागाई महाविपत्तीको बीमा नहुने भएपनि कम्पनीहरुको पनि सामाजिक उत्तरदायित्व हुने भएकाले पोलेसी जारी गर्न निर्देशन दिइएको बताउछन् । कोरोनाको उपचार सरकारले गर्नेभए विरामी र बिरामीको परिवारलाई आर्थिक सहयोग हुने भएकाले बीमा लेख महत्वपूर्ण हुने उनले बताए ।

सामाजिक उत्तरदायित्वका रुपमा जारी गरिएको बिमालेखबाट आर्जन भएको रकम कम्पनीहरुलाई बाडेर खान नदिने पनि उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *